काठमाडौं– सभापति शेरबहादुर देउवासँग रुष्ट कांग्रेसको असन्तुष्ट समूहले आज (सोमबार) काठमाडौंमा जिल्ला सभापतिहरूको भेला बोलाएको छ।
चौधौं महाधिवेशनको कार्यतालिका, विभागहरूको गठन लगायत विषयमा विवाद बढेपछि केन्द्रीय समिति बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छलफलका लागि जिल्ला सभापतिहरूको भेला बोलाएको हो।
पौडेल पक्षलाई महामन्त्री शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाको समूहले पनि सघाएको छ।
पौडेल पक्षका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जिल्ला सभापतिहरूसँग छलफल गरेर विरोधलाई थप चर्काउन र सभापति देउवालाई दबाब दिन भेला बोलाइएको बताए।
पार्टी केन्द्रीय समितिबाट भएको एकलौटी निर्णयविरुद्ध तलसम्म जाने रणनीति अनुरुप पहिलो चरणमा जिल्ला सभापतिहरूसँग छलफल राखिएको उनकाे भनाइ छ। उनले भेलामा महाधिवेशनको मिति, विभागहरूको गठनलगायत विषयमा छलफल गरिने र भेलापछि अन्य कार्यक्रम तय हुने बताए।
केन्द्रीय समितिमा अल्पमतमा रहे पनि जिल्ला सभापतिहरूमा पौडेल पक्षको संख्या धेरै छ।
कांग्रेसका ७७ जिल्ला सभापतिलाई भेलामा बोलाइएको भनिए पनि देउवा समूहका जिल्ला सभापतिहरूले भने आफूलाई नबोलाइएको बताएका छन्।
देउवा निकट मानिने कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहराले भने छलफलका लागि आफूलाई जानकारी नआएको बताए।