मंगलबार, भदौ २, २०८३

प्रदेश–५ मा यस्ता छन् घुम्‍न लायक गन्तव्य

प्रदेश नं. ५ मा मुख्यमन्त्री शंकर पोखरेलले बर्दियाको ठाकुरद्वारामा आयोजित कार्यक्रममा अभियान शुभारम्भ गरे।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

भैरहवा । एक वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको अभियान नेपाल भ्रमण वर्ष २०२० सुरु भइसकेको छ। काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र सातै प्रदेशमा मुख्यमन्त्रीले अभियानको जनवरी १ मा उद्घाटन गरिसकेका छन्।

प्रदेश नं. ५ मा मुख्यमन्त्री शंकर पोखरेलले बर्दियाको ठाकुरद्वारामा आयोजित कार्यक्रममा अभियान शुभारम्भ गरे। यो प्रदेशका १२ जिल्लामा घुम्न लायक गन्तव्यहरु थुप्रै छन्।

नेपाल भित्रिने पर्यटकमध्ये करिब ५० प्रतिशत प्रदेश ५ का विभिन्न स्थलको अवलोकनमा आउने विश्वास प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको छ । यो प्रदेशमा लुम्बिनीदेखि सिस्ने हिमाल, गौमुखीदेखि चिसापानीसम्मका मुख्य पर्यटकीय गन्तव्य पर्छन् ।

रुपन्देही
५ नम्बर प्रदेशको पर्यटक प्रवेश गर्ने मुख्यद्वार हो, रुपन्देही जिल्ला । स्थलमार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका रुपन्देहीमै पर्छ । गौतमबुद्धको जन्मस्थल पनि रुपन्देहीमा पर्छ ।

लुम्बिनीमा मायादेवीको मन्दिर छ, १२ वटा विहार छन्, उद्यान छ । घुम्नलायक अन्य थुप्रै ठाउँ छन् । बस्नका लागि लुम्बिनीमा राम्रा होटल तथा रिसोर्टहरु छन् ।

रुपन्देहीमा पर्ने मर्चवार पनि महत्वपूर्ण ऐतिहासिक स्थल हो । बुटवलदेखि १४ किलोमिटर दक्षिण पश्चिममा अवस्थित पर्रोहाको शिवालय क्षेत्र, सूर्यपुराको सरस्वतीस्थान, सैनामैना क्षेत्र आदि पनि घुम्न लायक क्षेत्र हुन् । छपियाको माछा पालन र माछाको परिकार, बनगाईको केराखेती, ओमसतियाको सतियामाई मन्दिर, भैरहवाको शिव मन्दिर, बाउन्नकोटी जंगल, टिकुलीगढको गाई फार्म, मधवलियाको अस्ट्रीच फार्म, मुर्गियाको थारु होमस्टेमा पनि पर्यटक रमाउन सक्छन् ।

नवलपरासी

बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा, पाल्ही भगवति मन्दिर, दाउन्ने, त्रिवेणीघाट, नवलपरासी मनरीको कोलवृक्ष, भुमहीखोलाको नजिक रहेको बर्दगरीया, छिपागढको बडगाउँ, हरपुरको गोबरकोट, गजेन्द्रमोक्षधाम, केवलानीदेवी जिल्लाका पर्यटकीय गन्तव्य हुन् ।

कपिलवस्तु
शाक्यवंशको ऐतिहासिक पुरानो राजधानी हो कपिलवस्तु, जहाँ सिद्धार्थ युवराजले २९ वर्ष बिताएका थिए । कनकमुनी बुद्धको जन्मस्थल निग्लीहवा, क्रकुचन्द बुद्धको जन्मस्थल गोटिहवा, मानव निर्मित सबैभन्दा ठूलो ताल जगदिशपुर ताल, त्यहाँ आउने साइबेरियन चराको अवलोकन महत्वपूर्ण छन्

पाल्पा
हिल स्टेसनको रुपले समेत परिचित तानसेन बजार सुन्दर हावापानी, पुरातात्विक सम्पदा, करुवा, ढाका, संस्कृतिको लागि प्रसिद्ध छ । पाल्पाको बल्डेङ्गढी क्षेत्रबाट लुम्विनी र हिमाल देख्न सकिन्छ ।

पाल्पामा रहेको नेपालको ताजमहलको रुपमा परिचित रानीमहललाई प्रेमको बिम्बको रुपमा समेत बुझ्ने गरिएको छ । रुरु क्षेत्र र रिडी हिन्दूहरुको पवित्र धार्मिक स्थल चारधाम मध्येको एक महत्वपूर्ण धार्मिक स्थल हो । श्रीनगर भ्यूटावर, नुवाकोट, अमरनारायण मन्दिर आदि पाल्पाका पर्यटकीय गन्तव्य हुन् ।

गुल्मी
तपोभूमिको रुपमा रहेको रेसुङ्गा हिन्दु धर्मावलम्वीको पवित्र स्थल हो । धुर्कोट गुफा, सिरसेनी, रुपाकोट, भाडागाउँको सुन्तला खेती, वामीको त्रिपुरासुन्दरी मन्दि आदि गुल्मीका घुम्नलायक ठाउँ हुन्।

अर्घाखाची
पाणिनी तपोभूमि, सुपा देउराली, नरपानी, सन्धिखर्क, घेरालेक, नरसिंहस्थान जिल्लाका पर्यटकीय गन्तव्य हुन् ।

प्युठान
स्वर्गद्वारी प्युठानको प्रशिद्ध मन्दिर हो । ध्यान, तपस्या र योगको लागि पनि महत्वपूर्ण स्थानको रुपमा परिचित रहेको छ स्वर्गद्वारी । झिमरुक नदीको उद्गमस्थल प्युठानको गौमुखी पनि महत्वपूर्ण पर्यटकीय गन्तब्य हो ।

रोल्पा
३१ सय मिटर अग्लो जलजला पहाड, होलेरी, थबाङ, रुन्टीगढी, भामा ओडार यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

पूर्वी रुकुम
प्रदेश नम्बर ५ को सबैभन्दा अग्लो हिमाल सिस्ने हिमाल रुकुममा पर्छ। गुरिल्ला ट्रेक, रुक्मिनीताल, ढोरपाटन सिकार आरक्ष यार्सागुम्वा आदिका लागि पूर्वी रुकुम प्रसिद्ध रहेको छ ।

बर्दिया
यहाँको बर्दिया राष्ट्रिय निकुञ्जमा, गोही, गैडा, जंगली हात्ती, बाघ, विभिन्न चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ । चिसापानी पुल, ठाकुरद्वारा यहाँका पर्यटकीय गन्तव्य हुन् ।

दाङ
देउखुरी उपत्यका, बाह्रकुने दह, पुरुनधरा झरना, चमेली गुफा, जखेरा ताल, भारपानी, तरुनी दह आदिको लागि प्रसिद्ध छ दाङ ।

बाँके
बाँके राष्ट्रिय निकुञ्ज, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बागेश्वरी मन्दिर, जुँगेश्वर महादेवको मन्दिर, रानी तलाउ, कोहलपुर गोलपार्क, सिक्टा आदि पर्यटकीय गन्तव्य हुन्।

प्रकाशित: Jan 05, 2020| 10:26 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्