काठमाडौं– सरकारको महत्वाकांक्षी अभियान नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट सुरु भएको छ। केन्द्रीय स्तरमा राष्ट्रपतिले र प्रदेश स्तरमा मुख्यमन्त्रीहरुले भ्रमण वर्षको उद्घाटन गरेका छन्।
सरकारी निकायका साथै गैरसरकारी र निजी क्षेत्र पनि भ्रमण वर्षको प्रचारमा जुटेका छन्। नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुले पनि भ्रमण प्रचारप्रसारमा सक्रियता देखाएका छन्।
भ्रमण वर्ष सुरु हुनु अघिल्लो दिन अर्थात् मंगलबार नै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पाटन दरबार क्षेत्रमा फोटो सुट गराएकी थिइन्। उनले नेपाल भ्रमण वर्ष सफताको शुभकामना पनि दिएकी थिइन्।
पर्यटन वर्ष सुरु भएको दिन बुधबार पनि उनले फोटो सुट गरेर सामाजिक सञ्जालमा पर्यटन वर्षको प्रचार गरेकी छिन्।
उता, अमेरिकी राजदूत र्याण्डी बेरी पनि भ्रमण वर्षको प्रचारप्रसारमा जुटेका छन्। राजदूत बेरीले आफ्नो ट्वीटरमार्फत् भ्रमण वर्ष सफल पार्न विभिन्न कार्य गर्ने जनाएका छन्।
राजदूत बेरीसहित अमेरिकी मिसनका सामाजिक सञ्जालमार्फत् जनवरी महिनाभर नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित फोटो तथा स्टोरीहरु राख्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। यसले हजारौं अमेरिकी पर्यटकलाई नेपाल आउन प्रोत्साहन गर्ने दूतावासको भनाइ छ।