काठमाडौं- उद्योगमन्त्री लेखराज भट्टले उखु किसानहरुलाई भेटेर आन्दोलन रोक्न आग्रह गरेका छन्।
उनले उखु किसानहरुको बक्यौता रकम १० दिनभित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।
सबै उखु किसानको बक्यौता रकम १० दिनभित्र प्राप्त नभए आफै सम्बन्धित ठाउँमा आएर किसानलाई भेट्ने आश्वासन दिँदै अब आन्दोलनको आवश्यकता नभएको बताए।
मन्त्री भट्टले उखु किसानहरुसँगको कुरामा धेरैजसो सुगर मिलहरुले उखु किसानहरुको रकम दिन सुरु गरिसकेको बताउँदै सबै मिलले १० दिनभित्र बक्यौता फस्र्यौट गर्ने प्रतिबद्धता जनाएकाले ढुक्क भएर घर फर्किन आग्रह गरे।
उनले हालसम्म हिमालयन सुगर मिलले २ करोड, एभरेष्टले १ करोड ६० लाख, रिलायन्सले ३० लाख र बाग्मती सुगर मिलले २ करोड ३१ लाख रकम किसानको बक्यौता तिरिसकेको र बाँकी बक्यौता १० दिनभित्र तिर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे र
त्यस्तै किसानहरुको धेरै बक्यौता रहेको श्रीराम सुगर मिलले २५ गतेभित्र सबै बक्यौता तिर्ने प्रतिबद्धता जनाएको मन्त्री भट्टले किसानहरुलाई जानकारी दिए।
उनले कृषि अनुदानको रकम पनि अब सबै किसानका खातामा हालिदिने प्रतिबद्धता उक्त भेटमा व्यक्त गरेका छन्।
मन्त्री भट्टले मिलहरुले प्रतिबद्धता गरेको समयमा बक्यौता रकम नतिरे सरकारले उनीहरुको बैंक खाता बन्द गरिदिने तथा अटेरी गर्ने मिल सञ्चालकहरुको सम्पत्ति बेचेरै भए पनि किसानको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
किसानहरुले भने आफूहरु पैसा नलिई नजाने बताएका थिए।
उनीहरुले किसानहरुको बक्यौता मिलहरुले तिर्ने नै भए काठमाडौंमै उपलब्ध गराउन माग गरेका छन्।
किसानहरुले आफूहरु काठमाडौंमा बस्न, खान र फर्किएर जानका लागिसमेत आर्थिक समस्यामा रहेको गुनासो मन्त्री समक्ष गरेका थिए।
उखु मिलहरुले बक्यौता रकम नतिरेकाले आफूहरु चल्नै नसकेको भन्दै सर्लाहीका उखु किसानहरुले केही दिनदेखि काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरिरहेका छन्।