काठमाडौं– वैदेशिक रोजगारीमा जान चाहने कामदारले अब म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनु नपर्ने भएको छ।
अब कामदार आफैंले अनलाइनमार्फत फाराम भर्न पाउनेछन्। वैदेशिक रोजगार विभागले बुधबारदेखि अनलाइन प्रणालीमा काम थालेपछि पासपोर्ट बुझाउन नपर्ने जानकारी दिएको छ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले अब वैदेशिक रोजगारीमा जान चाहने कामदार कुनै कागजपत्र बोकेर विभाग वा म्यानपावर धाइरहन नपर्ने बताए । यसबाट व्यवसायीको कार्टेलिङ अन्त्य हुने विश्वास विभागको छ।
अब विभागको वेबसाइटमा कुन देशबाट कुन स्तरको कामदार माग भएको छ, त्यसको सूचना राखिन्छ। सोही सूचनाका आधारमा कामदारले जान चाहेको मुलुक र कामका बारेमा जानकारी पाउनेछन्। त्यसपछि वेबसाइटबाटै फाराम भर्न सकिन्छ।
नेपालस्थित मलेसियन राजदूतवासले यो प्रणाली लागू गरिसकेको छ । कतार र दुबईको दूतावास पनि छिट्टै अनलाइनमा जाँदै छन् ।
व्यवसायीको भूमिका के ?
वैदेशिक रोजगार व्यवसायीले कुन देशको कुन कम्पनीबाट कस्ता कामदारको माग भएको छ, त्यसबारे विभागलाई जानकारी गराउनेछन् । त्यसको विवरण विभागले वेबसाइटमा राख्छ। कामदारले फाराम भरिसकेपछि अन्तरवार्ता भने व्यवसायीले लिनेछन्।