काठमाडौं– सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन यही बुधबार हुँदैछ।
अंग्रेजी नयाँ वर्षको दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। समारोहलाई प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्ने बताइएको छ।
सरकारले पर्यटन वर्षको उद्घाटन समारोहमा भाग लिन विश्वका थुप्रै देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरेको भए पनि चार देशका पर्यटनमन्त्री आउने निश्चित भएकाे छ।
पर्यटन मन्त्रालयका अनुसार भारत, चीन, म्यानमार र जमैकाका पर्यटन मन्त्री उद्घाटन समारोहका लागि आउने निश्चित भएको छ। भुटानबाट भने त्यहाँको पर्यटन विभागका महानिर्देशक आउँदैछन्।
सरकारले अमेरिका, बेलायत तथा युरोपियन मुलुकका पर्यटन मन्त्रीलाई पनि आमन्त्रण गरेको थियो। तर, नयाँ वर्षका कारण कुनै पनि देशका पर्यटन मन्त्री नआउने भएका छन्।
उद्घाटन समारोहमा विभिन्न देशका ४० भन्दा बढी प्रतिष्ठित सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहने पर्यटन मन्त्रालयले जनाएको छ। भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार उद्घाटन समारोहमा करिब २ करोड खर्च हुने अनुमान छ।
सातै प्रदेशका मुख्यमन्त्रीले पनि आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन्।