काठमाडौं– बैंकर्सहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट« बैंकले ब्रोकरको काम गर्न दबाब दिएका कारण ब्रोकरको लाइसेन्स लिन लागेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको अर्थ समितिले पुँजीबजार र मुद्रा बजारको अध्ययनका लागि गत साउनमा सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।
सो उपसमितिले आइतबार आयोजना गरेको बैंकर्सहरुसँगको छलफलमा उनीहरुले सो कुरा बताएका हुन्।
बैठकमा बैंकर्सहरुले ब्रोकरको काम गरेर बैंकलाई राम्रो आम्दानी नहुने भन्दै यो करकापमा गर्न लागिएको बताएका थिए। बैठकमा एक बैंकरले नियामक निकायले आफूहरुलाई पहिले पनि बिमाको काम गर्न भनेको तर अहिले सो स्कीम बन्द गर्न निर्देशन दिएको सन्दर्भ कोट्याउँदै भने, ‘यदि बीमाको स्कीम बेचेजस्तो हुने हो भने अहिले नै हामीलाई लाइसेन्स नदिए हुन्छ । कम्तीमा त्यहाँ हुने लगानी अन्त गर्न त पाइन्छ।’
बैंकर्सले केही बैंकले सहायक कम्पनी खोलेर ब्रोकर लाइसेन्स लिएको र केहीले सहायक कम्पनी खोल्ने क्रममा रहेको बैठकमा बताएका थिए। उनीहरुले बैंकका लागि ब्रोकरको काम नयाँ भए पनि पारदर्शि हुने भएका कारण आफूहरुलाई नियामक निकायले सो काम गर्नको लागि दवाव दिएको समितिसमक्ष स्पष्ट पारे।
बैठकमा सहभागी बैंकर्सहरुले बैैंकहरु राष्ट्र बैंकको निगरानीमा चल्ने र निकै पारदर्शी हुने हुँदा बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न दिँदा केही फरक नपर्ने बताए। उनीहरुले बैंकले अहिलेसम्म गरेको कामका कुनै प्रश्न नउठेको बताउँदै ब्रोकर लाइसेन्समा पनि डराउन नपर्ने धारणा राखेका थिए ।
समितिका सदस्यहरुले बैंकहरुले ब्रोकर लाइसेन्स पाउँदा ‘इन्साइडर ट्रेडिङ’ हुने हो कि भनेर शका गरेका थिए ।
उपसमितिको बैठक अहिलेसम्म ६ पटक बसिसकेको छ। आइतबार नै सेयर बजारका विज्ञ तथा जानकार र बैंकर्ससँग छुट्टाछुट्टै २ वटा बैठक बसेको थियो। आइतबारको बैठकपछि निष्कर्षमा पुगिने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिएका छन् ।
बैठकमा दाहालले बैंकर्सहरुलाई ब्रोकरको काम गर्न दिँदा ‘इन्साइडर ट्रेडिङ’ बढ्नसक्ने तर्फ शंका गरेका थिए ।
नेपाल बंगलादेश बैंकबाहेक अन्य देशहरुमा बैंकहरुले नै ब्रोकर लाइसेन्स लिएर ब्रोकरको काम गरिरहेका छन्। तर बंगलादेशमा भने यो मोडल सफल हुन सकेको छैन।