मंगलबार, भदौ २, २०८३

परिवर्तनले बिसेक पार्न नसकेको त्यो चोट...

एउटा खिल, जसलाई निचोर्नु छ। पीडादायी नीलकाँडा, जसलाई उखेलेर फाल्ने कोसिस गर्नु छ। तर वर्षौंदेखिको प्रयास निरर्थक छ। क्यालेन्डरका पानामा जतिपटक पुस पल्टिन्छ, पीडा झन् झन् बल्झिरहन्छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

एउटा खिल, जसलाई निचोर्नु छ। पीडादायी नीलकाँडा, जसलाई उखेलेर फाल्ने कोसिस गर्नु छ। तर वर्षौंदेखिको प्रयास निरर्थक छ। क्यालेन्डरका पानामा जतिपटक पुस पल्टिन्छ, पीडा झन् झन् बल्झिरहन्छ।

प्रसंग १८ वर्षअघिको हो। एसएलसी टेस्ट परीक्षा आउन एक महिना बाँकी थियो। म दिनरात नभनी परीक्षाको तयारीमा व्यस्त थिएँ। ट्युसन पढ्न स्कुल भएको ठाउँ मल्लेख बजारमै बस्नुर्थ्यो। घरबाट भ्याइन्नथ्यो। त्यसैले बजारमै डेरा लिएर बसेको थिएँ। महत्त्वपूर्ण चाड पुसे १५ मनाउन पनि घर गइनँ। कठ्यांग्रिँदो जाडोमा एकाबिहानै गणितको ट्युसन पढ्न जानुपर्थ्यो।

पुस १६ गते बिहानै ट्युसन गएँ। मनमा भने अघिल्लो दिन आमाले पकाउनुभएको ढुकढुके रोटी (चामलको पिठोबाट बनेको) कति बेला आइपुग्छ भन्ने आस थियो। ट्युसन पढेर बाहिर निस्कनेबित्तिकै स्कुल मैदानमा भाइ उभिएको देखेँ। मनमनै सोचेँ, आज आमाले ढुकढुके रोटी भाइलाई पठाउनुभएछ। मन प्रफुल्ल भयो। तर आमाले भाइलाई रोटी दिएर पठाउनुभएको रहेनछ। अघिल्लो दिन घरमा ढुकढुके रोटी पाक्नु त के चुल्होमा आगोसमेत बलेनछ। भाइ घरमा पुगेको अप्रिय खबर सुनाउन त्यहाँ आएको रहेछ। त्यो खबर सुन्दा म निकै मर्माहत भएँ। सायद, जीवनभरकै सबैभन्दा ठूलो चोट थियो त्यो। अपत्यारिलो तर भोग्नैपर्ने, अविश्वसनीय तर सहनैपर्ने!

‘दाइ कैलाली आउनुभएको रहेछ त्यहाँ माओवादीले मार्‍यो रे!’ भाइको यो वाक्यले म छाँगाबाट खसेझैँ भएँ। सम्हालिन धेरै कठिन भयो। बल्लतल्ल अर्धबेहोस् अवस्थामा घर पुगेँ।

दाजुलाई विद्रोही माओवादीले पुस ९ गते अपहरण गरेका रहेछन्। त्यो बेला संचारको सुविधा नहुँदा पहाड घरमा खबर गर्न नपाएपछि गाउँलेहरुले भारतमा रहेका आफन्तसँग खबर पुर्‍याएछन्। खबर सुनेर भारतबाट गाउँले अंकल र दाइ आएर चार दिनपछि १२ गते लास फेला पार्नुभएछ। अत्येष्टि पनि उहाँहरूले गर्नुभएछ। पुस १५ गते उहाँहरूले खबर लिएर घर पुग्नुभएको थियो।

दाजुको दरबन्दी प्यूठानमा थियो। उहाँ गाउँले वृद्ध हजुरबा र हजुरआमा भेट्न कैलालीको सुख्खड गएका बेला माओवादीले घरबाटै अपहरण गरेर निर्मम हत्या गरेछन्। उहाँसँग न हतियार थियो, न कसैकाविरुद्ध सुराकी गर्नुभएको थियो। विद्रोहीले सरकारी सुरक्षा निकायमा काम गरेकै आधारमा दाजुलाई अपहरण गरी निर्मम हत्या गरे।

जागिर अवधिमा अछामको शान्तडामा कार्यरत रहँदा होस् वा कञ्चनपुरको त्रिभुवनबस्ती या प्यूठानको लुङवहानेमा रहँदा होस् उहाँले कहिल्यै माओवादीविरुद्ध गतिविधि नगरेको सहकर्मीहरू बताउँछन्। कतै माओवादी कार्यकर्ता भेटिए भने नेपाली दाजुभाइ नै हुन् हत्या गर्नु हुँदैन भनेर छोडिदिने उहाँको व्यवहारको सबैले प्रशंसा गर्थे। यो सुन्दा लाग्थ्यो, सशस्त्र युद्धमा मेरो दाइले कुनै दुःख कष्ट भोग्नु पर्दैन होला।

निःशस्त्र अवस्थामा घरमा बसेर खाना खाइरहेको मान्छेलाई अपहरण गरेर निर्मम ढंगले हत्या गर्नु युद्ध नियमविपरीत थियो। दाजुले देशका लागि ज्यान दिन्छु भनेर सुरक्षाकर्मीमा जागिर खानुभएको थियो। दोहोरो भिडन्त वा आक्रमणमा ज्यान गएको भए परिवारको चित्त बुझाउने बाटो रहन्थ्यो होला। तर निःशस्त्र अवस्थामा कायरतापूर्ण तरिकाले दाजुको जसरी हत्या भयो हत्याराको जति निन्दा गरे पनि कम हुन्छ।

घरको जेठो छोरा। सरकारी जागिरे। कमाउने छोरा गुमाउँदा परिवारमा कति क्षति हुँदो रहेछ त्यो त भोग्नेलाई मात्र थाहा हुँदो रहेछ। परिवारमा परेको भौतिक, आर्थिक र मानसिक क्षतिको त के बयान गरूँ?

बुबाले छोराको किरिया गर्नुपर्दा कस्तो पीडा होला? मेरो बुबालाई त्यो पीडा अनुभूति गराउन बाध्य पार्ने हत्यारा कतै हुन सक्छन्। उनीहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने अठोट छ मेरो।

एउटा छोराको अभावमा परिवारमा कति ठूलो असर पर्छ भन्ने मेरो परिवारले अहिले नमिठोसँग अनुभूति गरिरहेको छ। घटनापछि खलबलिएको मेरो पारिवारिक वातावरण अहिलेसम्म पुरानो अवस्थामा फर्किन सकेको छैन।

दाइको हत्यापछि सम्पूर्ण पारिवारिक जिम्मेवारी मेरै थाप्लोमा पर्‍यो। दाइ गुमाउँदाको पीडा छँदै छ। पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यतासँगसँगै टुहुरा भतिजाभतिजीको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारीले मलाई कहिलै उठ्न नसक्ने गरी थिच्यो।

युद्वका क्रममा ज्यान गुमाउनेका आश्रित परिवारको लालनपालन र शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने हो। विडम्बना! राज्यले लालनपालन त के सन्ततिको शिक्षादीक्षामा पनि ध्यान दिएको छैन। हाम्रै परिवारका सदस्यहरुले रगत बगाएर आएको परिवर्तनले जंगलमा पसेकाहरुलाई सत्तामा पुर्‍यायो। हजारौंले पद र अवसर पाए। कैयन् व्यक्ति रातारात अकुत सम्पत्ति कमाउन पुगे। तर, पीडितको अवस्था जहाँको त्यहीँ छ।

सशस्त्र युद्वको अन्त्य भएको पनि डेढ दशक पुग्न लागिसकेको छ। पीडितले न्याय पाउन सकेका छैनन्।

संक्रमणकालीन मुद्दाको न्याय निरुपण गर्नका लागि गठन गर्ने भनिएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले अझै पूर्णता पाउन सकेका छैनन्। यसअघिका आयोग काम नै नगरेर विगठन भए। आयोगमा नयाँ पदाधिकारी नियुक्तिको काम लामो समयदेखि टुंगिन सकेको छैन। यसबाट पीडितले न्याय पाउने विषय झन्झन् अनिश्चित बनेको छ। राजनीतिक परिवर्तनबाट प्रत्यक्ष लाभ लिनेहरुलाई मेरो प्रश्न छ - के अहिलेको परिवर्तनले वास्तविक पीडितहरुको पीडामा मल्हम लगाउने काम गर्‍यो त? के साँच्चै पीडितले न्याय पाए त?

दाजुको १८ औं पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

प्रकाशित: Dec 28, 2019| 03:58 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।