काठमाडौं- नेपालमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको लागि वित्तिय व्यवस्थापन नेपाल एसबीआई बैंकले गर्ने भएको छ।
बैंकले सो आयोजनामा लगानीका लागि भारतबाट ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण ल्याउनका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।
भारुमा ऋण ल्याउनका लागि बैंकले राष्ट्र बैंकसँग अनुमति मागेको हो।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत भारुमा पनि चुक्तापुँजी बराबरको ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो। जुन भारतीय लगानीका बैंक तथा वित्तिय सस्थालाई नै लक्षित थियो।
सो निवेदन राष्ट्र बैंकले लगानी बोर्डमा पठाउन लागेको छ। ५० करोड भन्दा बढीको ऋण नेपालमा भित्र्याउनुपर्दा लगानी बोर्डको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार एसबीआईले सो ऋणको व्याजदर साढे ८ प्रतिशत हुनेछ। जुन नेपालको भन्दा सस्तो हो।
बैंकले भारतको स्टेट बैंक अफ इन्डिया (एसीबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट सो रकम ऋण ल्याउन लागेको हो।
नेपाल एसबीआईमा भारतको स्टेट बैंक अफ इण्डियाको स्वमित्व छ। एसबीआईले त्यहाँबाट ऋण नेपाल ल्याउन रिजर्व बैंक अफ इन्डियाबाट समेत अनुमति लिइसकेको छ।
एक खर्ब १५ अर्ब रुपैयाँ लागतको सो आयोजना भारतको सतलज जलविद्युत निगम लिमिटेडले नेपालमा एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण गरिरहेको छ।