काठमाडौं– सरकारले घोषणा गरेको महत्वाकांक्षी कार्यक्रम ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन पाँच दिनमात्र बाँकी छ। वर्षदिनमा २० लाख विदेशी पर्यटक भित्र्याउने र देशभित्र पनि पर्यटनको लहर सिर्जना गरेर आर्थिक गतिविधि बढाउने लक्ष्य सरकारको छ।
भ्रमण वर्षको अन्तिम तयारीमा सरकार जुटेको छ सरकार अहिले। तर, यही बेला नेपाली पर्यटन क्षेत्रको एउटा महत्वपूर्ण निकाय नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन हुन पुगेको छ। प्रतिस्पर्धाबाट छानिएका बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको चार वर्षे कार्यकाल सकिएकाले बोर्ड नेतृत्वविहीन भएको हो। पर्यटन मन्त्रालयले जोशीको कार्यकाल चार महिना थप्न प्रस्ताव गरेको थियो। तर, जोशीले उक्त प्रस्ताव अस्वीकार गर्दै दोस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा उत्रिने बताएका छन्।
पर्यटन बोर्डको सीईओ छान्न पर्यटन मन्त्रालयले एउटा समिति बनाएको छ। समितिले गत महिना सीईओका लागि आवेदन मागेकोमा १७ जनाको आवेदन परेको छ। तीमध्ये ११ जना बोर्डकै कर्मचारी छन्। सीईओको लागि आवेदन दिने बोर्डका कर्मचारीहरुमा काशीराज भण्डारी, हिक्मतसिंह ऐर, रोहिणी खनाल, नविन पोखरेल, उदय भट्टराई, सूर्य थपलिया, लेखनाथ भुषाल, सन्तोषविक्रम थापा र कुन्दन शर्मा छन्।
बोर्ड बाहिरबाट भने विमल नेपाल, प्रमेश श्रेष्ठ, दीपक बास्ताकोटी, प्रयास अधिकारी, विष्णुप्रसाद गौतम, धनन्जय रेग्मी र बच्चुनारायण श्रेष्ठको आवेदन परेको छ। बच्चुनारायण भ्रमण वर्ष सचिवालयका सदस्यसचिव पनि हुन्।
छनोट समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले एक–दुई दिनभित्रमा नै सीईओ छनोटको प्रकृया सुरु हुने र एक महिनाभित्र पर्यटन बोर्डले नयाँ सीर्इओ पाउने बताए। ‘बोर्डमा सीर्इओ नभए पनि भ्रमण वर्षलाई असर पर्दैन। वरिष्ठताको आधारमा निमित्त सीईओ तोकिन्छ र सोहीअनुसार काम हुन्छ। भ्रमण वर्षको लागि सचिवालय छ, मन्त्रालयले पनि काम गरिरहेको छ,’ उनले भने।