सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लाखौं चल्ला र अण्डा नष्ट गरेसँगै आकाशियो मासु र अण्डाको मूल्य

लाखौं चल्ला र अण्डा नष्ट गरेसँगै आकाशियो मासु र अण्डाको मूल्य

कुखुरा व्यवसायीहरुले चल्ला मार्ने र अण्डा फुटाउने गरेपछि कुखुराको मासु र अण्डाको मूल्य आकाशिएको छ । आन्दोलित व्यवसायीले
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौँ- कुखुरा व्यवसायीहरुले चल्ला मार्ने र अण्डा फुटाउने गरेपछि कुखुराको मासु र अण्डाको मूल्य आकाशिएको छ ।

आन्दोलित व्यवसायीले ४० लाख चल्ला र लाखौंको संख्यामा अण्डा नष्ट गरेपछि बजारमा आपूर्ति कम भएको भन्दै मूल्य बढाइएको हो ।

पछिल्लो एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि भइको छ । नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।

बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको भनाइ छ । माग पनि बढेपछि मूल्य वृद्धि हुनु स्वाभाविक रहेको संघको दाबी छ ।

चार दिनअघि प्रतिकिलो ब्रोइलर कुखुराको मूल्य २५० रुपैयाँ थियो भने खुद्रा बजारमा भने प्रतिकिलो २६० रुपैयाँमा बिक्री भएको थियो ।

आन्दोलनलगत्तै संघले प्रतिकिलो २७० रुपैयाँ निर्धारण गरेको थियो । बजारमा भने २८० रुपैयाँमा बिक्री भएको थियो । संघले अहिले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

आज (बुधबार) बाट कुखुराको मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ निर्धारण गरिएको छ । मागअनुसार आपूर्ति कम भए मूल्य थप वृद्धि हुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी बताउँछन् ।

माघमा बिहेको सिजन सुरु हुन्छ । त्यति बेला कुखुरा मासुको माग बढ्छ । तर, ह्याचरी उद्यमीले चल्ला नष्ट गरेकै कारण मासुको मूल्य बढ्न सक्ने सम्भावना उच्च रहेको संघको दाबी छ ।

अण्डा व्यवसायी पनि मूल्य बढाएका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय समितिका अध्यक्ष शिवराम केसीका अनुसार मंगलबारदेखि अण्डाको मूल्य बढेको छ । ठूलो अण्डामा प्रतिक्रेट १५ र मध्यम अण्डामा २० रुपैयाँ बढाइएको छ ।

सोमबारसम्म ठूलो अण्डा प्रतिक्रेट २७५ रुपैयाँ थियो । मंगलबारदेखि २९० रुपैयाँ लागू भएको छ । मध्यम अण्डा प्रतिक्रेट २५५ रुपैयाँ थियो । अब २७५ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित: Dec 25, 2019| 04:05 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्