काठमाडौं– हिमालयन डिष्टिलरी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा पुस १ गते कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भएको छ । साभारणसभाले नगद लाभांश ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरी आव २०७५–०७६ को कुल लाभांश १०२.६३ प्रतिशत पारित गरेको छ ।
यसैगरी संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांशको रुपमा प्रति शेयर रु.६८.४२ वितरण गरेको समेत गरी आव २०७५–०७६ मा जम्मा १७१.०५ प्रतिशत लाभांश घोषणा गर्ने वहुराष्ट्रिय कम्पनी वाहेक नेपालमा सूचीकृत कम्पनी मध्ये उत्कृष्ट भएको बताइएको छ ।
यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको र नेपालमा १० लाख कार्टुनभन्दा बढी प्रति वर्ष विक्री हुने व्राण्ड हो । हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ ।
हिमालयन डिष्टिलरी लिमिटेडले आव २०७५–०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाखको संचालन आम्दानी हासिल गरेको जनाइएको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख खुद मुनाफा आर्जन गरेको छ । यस उद्योगले गत आवमा अन्तःशुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख राजस्व दाखिला गरेको छ ।