काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले सागको भव्य समापन र प्रतिनिधि सभाको सभामुख छान्न चलिराखेको रस्साकस्सीलाई मुख्य समाचार बनाएका छन् ।
आजको नयाँ पत्रिकाले भने बालुवाटरको सरकारी जग्गा किन्नेविरुद्ध पनि अख्तियारले मुद्दा चलाउन लागेको विषयलाई मुख्य समाचार बनाएको छ । राणा परिवारबाट जग्गा किन्ने दुई तहसम्मका जग्गाधनीलाई कारबाहीको दायरमा ल्याउने अख्तियारको तयारी छ ।
यस्तै नयाँ पत्रिकाले २० वर्षपछि फर्किएको सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
उसले आयोजना अस्तव्यस्त, खेलाडीको प्रदर्शन उत्कृष्ट शीर्षक दिएर खबर छापेको छ ।
उसले सागको समापनको दिन मंगलबार अन्तर्राष्ट्रिय फुटबल हुनुअघि रंगशालाभित्र सांसद र कर्मचारीको रमिता थियो भने बाहिर सर्वसाधरणमाथि प्रहरीको बर्बरता चलेको पनि समाचारमा उल्लेख गरेको छ ।
यस्तै कान्तिपुर दैनिकले नेपाललाई ५१ स्वर्ण शीर्षकमा तस्बिरसहितको ब्यानर न्यूज छापेको छ भने सभामुख छान्न सत्तारुढ दल नेकपा भित्र भइराखेको रस्साकस्सीलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
सागको सुखद समापन शीर्षक दिएर ब्यानर फोटो छापेको अन्नपूर्ण पोस्ट्ले उपसभामुखलाई राजीनामा गराउँदै नेकपा शीर्षकमा मुख्य समाचार छापेको छ ।
नागरिक दैनिकले १३ औं साग सम्पन्न, नेपाललाई ऐतिहासिक सफलता शीर्षक दिएर मुख्य समाचार छापेको छ । यस्तै सुर्खेतमा सरकारी जग्ग दलहरुले आफूखुसी प्रयोग गरेको खबर पनि लेखेको छ ।
बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा चलाउने अख्तियारको तयारी
नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन, जग्गा किन्नेहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् ।
‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्योल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरूसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए ।
प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा धेरै व्यक्तिको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकेको छ ।
मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् । भाटभटेनी सुपरमार्केटले सोही जग्गामा गोदाम बनाएको छ । यो जग्गामा नेकपाका महासचिव विष्णु पौडेलको छोराको नाममा समेत घडेरी छ ।
धेरैजसो जग्गा बैंकमा धितो राखेर करिब दुई अर्ब कर्जा निकालिएको छ । जसकारण यो मुद्दामा बैंकहरूको लगानी संकटमा पर्ने देखिएको छ ।
प्रहरीको सिआइबीले पनि अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ । अख्तियारले मुद्दा दायर गरिसकेपछि कागजपत्र किर्ते देखिएमा मुद्दा दायर गर्ने सिआइबीको तयारी छ ।
सो प्रकरणमा सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर थप छानबिन गर्ने जिम्मेवारी सरकारले सिआइबीलाई दिएको थियो । ‘केही ल्याब रिपोर्ट आउन बाँकी छ, एक–दुईजनासँग थप बुझ्नुपर्नेछ,’ ब्युरोका निर्देशक डिआइजी नीरज शाही भन्छन्, ‘अब छिटै प्रतिवेदन बुझाउँछौँ ।’
नक्कली मोही खडा गरी सरकारी जग्गा कब्जा गरिएको आशंकामा सिआइबीले मोही भनिएका व्यक्तिको औँठाछाप परीक्षण गरिरहेको छ ।
त्यससम्बन्धी परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्ट प्रतीक्षा भइरहेको सिआइबीले जनाएको छ ।