काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गतेका लागि संघीय संसद्को बैठक आह्वान गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन्।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो।
अधिवेशन सकिएलगत्तै सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेको थियो। आरोपपछि राजीनामा दिएका महरा अहिले पुर्पक्षका लागि थुनामा छन्। प्रतिनिधिसभा अहिले सभामुखविहीन छ। सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा संसद् बैठक बस्ने सक्ने प्रावधान छ।
त्यसैले अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले गर्नेछिन्। संसद् सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया पनि सुरु हुनेछ।