काठमाडौं– मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय दूतावास अगाडि धर्ना तथा प्रदर्शन गरेको छ। भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा लैनचौरमा प्रदर्शन भएको हो।
आज मनाइँदै गरेको ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित धर्नाका सहभागीले राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस् लेखिएका ब्यानर र प्ला कार्ड प्रदर्शन गरेका थिए।
धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेललगायतका अधिकारकर्मीको सहभागिता थियो।
भारतीय अतिक्रमणको विरोधमा शान्ति समाजका जिल्ला शाखाहरूले पनि प्रदर्शन गरेका छन्।