नयाँदिल्ली– भारतमा नागरिकता संशोधन विधेयक तल्लो सदन लोकसभाले पारित गरेको छ। विपक्षीहरुले विरोध गरेपछि विवादमा आएको उक्त विधेयक मध्यरातमा पारित भएको हो।
धर्मको आधारमा नागरिकता बाँड्न लागिएको भन्दै विधेयकको विपक्षीहरुले चर्को विरोध गरेका थिए। बीबीसीका अनुसार मध्यरातमा भएको मतदानका क्रममा विधेयकको पक्षमा ३११ र विपक्षमा ८० मत परेको थियो।
विधेयक पास भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गरेका छन्। गृहमन्त्री अमित शाहको प्रशंसा गर्दै उनले नयाँ संशोधन भारतको सदियौं पुरानो परम्परा र मानवीय मूल्यको विश्वास अनुरुप रहेको टिप्पणी गरेका छन्।
विपक्षीहरुले भने आधा रातमा विधेयक पास गरेर स्वतन्त्रता, समानता, भाइचारा र न्यायको बारेमा भारतको आदर्शका साथ धोका दिने काम भएको बताएका छन्।
विपक्षी कंग्रेस आई पार्टीले विधेयकलाई विभाजनकारी भनेको छ। कंग्रेस नेता शशि थरुरले भारतको संविधानको लागि नोभेम्बर १० लाई कालो दिन भनेका छन्।