काठमाडौं– सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन्।
पूर्वसहसचिव अधिकारीलाई वाणिज्य बैंक सञ्चालक समितिले अध्यक्ष चयन गरेको हो। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।
असोजमा सेवाबाट अवकाश भएसँगै उनलाई सरकारले सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको थियो। सञ्चालक समितिको निर्णयबाट नै उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
यसअघि महेन्द्रमान गुरुङ सो बैंकको अध्यक्ष रहेका थिए। उनको कार्यकाल सकिएर अवकाश पाएसँगै अधिकारी अध्यक्ष भएका हुन् । अधिकारीले जनप्रशासन र नेपाली विषयमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक गरेका छन्।