काठमाडौं- एनसेल प्रा.लि.ले देशका ६ सहरमा एक दिने ‘एनसेल मेला २०७६’ आयोजना गर्ने भएको छ।
एनसेलले बुधबार विज्ञप्ति जारी गरी इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, धनगढी र बुटवलमा मेला आयोजना गर्ने घोषणा गरेको हो। जसअनुसार मंसिर २८ गते इटहरीमा मेला आयोजना गरिँदैछ।
यस्तै, मंसिर ३० गते बिर्तामोडमा, पुस ३ गते जनकपुरमा, पुस ५ गते वीरगंजमा, पुस ९ गते धनगढीमा र पुस १२ गते बुटवलमा मेला आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ।
मेलामा गायक दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाई, कलाकार प्रियंका कार्कीले प्रस्तुति दिनेछन्। वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुति रहनेछ।
बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म चल्ने मेलामा किड्स जोन, खेल तथा फुड स्टलसमेत राखिनेछन्। मेलामा एनसेलका विभिन्न सेवा तथा सुविधामा आर्कषक अफर र उपहार राखिने तथा एनसेलका सेवा तथा सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
मेलामा निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ।
‘आज, भोलि, सधैंसँगै’ नाराअनुरूप एनसेलले मेला आयोजना गर्न लागेको हो । मेलाले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सघाउ पुर्याइ आन्तरिक पर्यटन प्रवर्धन हुने एनसेलको विश्वास छ।