काठमाडौं । वस्तु व्यापारमा घाटा बेहोरिरहेको नेपाल सेवा व्यापारमा पनि घाटामै देखिएको छ । सेवा क्षेत्रमा आयात बढी र निर्यात कम हुँदा घाटा बेहोर्नुपरेको हो ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने सेवा क्षेत्रको अवस्था नाजुक रहेको छ । आर्थिक वर्ष २०७१–०७२ मा नेपालको सेवा आय १ खर्ब ४९ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो । तर गत आर्थिक वर्षको अन्त्यसम्ममा आइपुग्दा नेपालको खुद सेवा क्षेत्रको आय १६ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ घाटामा रहेको छ ।
यसरी सेवा क्षेत्र पनि घाटामा रहनु अर्थतन्त्रको लागि नकारात्मक हुने विज्ञहरु बताउँछन् । ‘विगत एक दशकको तथ्यांकलाई केलाउने हो भने नेपालको सेवा क्षेत्र अत्यधिक ओरालो लागेको छ,’ अर्थशास्त्री डा.केशवप्रसाद आचार्यले भने ।
उनका अनुसार नेपालमा सेवा क्षेत्र घाटामा रहनुको मुख्य कारण हवाई क्षेत्र बलियो नहुनु हो । नेपालमा दैनिक ३० वटा अन्तर्राष्ट्रिय उडान हुने भएपनि त्यसमा विदेशी वायुसेवा कम्पनीकै बाहुल्य छ । केही देशमा बाहेक नेपालको राष्ट्रिय ध्वजावाहकले विदेशमा आफ्नो उपस्थिति देखाउन सकेको छैन ।
घुम्नकै लागि विदेश जाने नेपालीको संख्या पनि बढ्दो क्रममा छ । यसबाट पनि विदेशी मुद्राको रुपमा नेपालबाट रकम बाहिरिरहेको डा. आचार्य बताउँछन् । नेपाल आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गर्ने गरेको आचार्यको अनुमान छ ।
अर्का अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीका अनुसार नेपालमा एडीबी, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय विकास साझेदारहरुले ऋणका साथै उच्च तलब र सुविधासहित विदेशी कर्मचारी राख्दा पनि नेपालबाट विदेशिने रकम बढेर सेवा क्षेत्र घाटामा गएको हो ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा क्षेत्रको खुद आय ६ अर्ब २७ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत विदेशबाट नेपालमा घुम्नका लागि आएका पर्यटकहरुबाट आएको रकम १६.५ प्रतिशतले वृद्धि भई १८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ अर्ब ६९ करोडमात्र रहेको थियो । त्यस्तै यस अवधिमा नेपालीले विदेशमा गएर गरेको खर्चमा २८.१ प्रतिशतले कमी आई २१ अर्ब २१ करोड रुपैयाँ भएको छ । गत वर्षको तुलनामा यस वर्षको भ्रमण खर्चमा ८ अर्ब २९ करोडले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी विदेश जाँदा १५ सय अमेरिकी डलरभन्दा बढी लैजान नपाउने व्यवस्था गरेपछि विदेश भ्रमणको खर्चमा केही कमी आएको हो । विशेषगरी थाइल्याण्ड, युएई, मलेसिया, सिंगापुर, इन्डोनेसिया तथा युरोपियन मुलुकमा नेपालीहरु भ्रमणका लागि जाने गरेका छन् । यस्तो भ्रमणलाई निरुत्साहन गर्न सटही सुविधामा नियन्त्रण गरेको हो ।
यस्तै, शिक्षाका लागि विदेशिने रकम पनि गत वर्षको तुलनामा १९ अर्ब २६ करोडले घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उच्च शिक्षाको लागि नेपालबाट बाहिरिने रकम १० अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
पाँच वर्षमा सेवा आयात
आर्थिक वर्ष २०७५–०७६ मा खुद सेवा आय १६ अर्ब ५२ करोडले घाटामा रहेको छ । आर्थिक वर्ष २०७५–०७६ मा सेवा खाता अन्तर्गत भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ७३ अर्ब ५७ करोड रहेको छ । त्यस्तै यो वर्ष भ्रमण व्यय १२.५ प्रतिशतले वृद्धि भई ८९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ४६ अर्ब ३२ करोड रहेको छ । यस वर्ष विदेशीले नेपालमा आएर भन्दा नेपाली विदेशमा गएर विदेशीले भन्दा १६ अर्ब एक करोड बढी खर्च गरेका छन् ।
२०७४–०७५
यस आर्थिक वर्षमा भने सेवा क्षेत्र बचतमा रहेको छ । यस वर्ष सेवा आय २ अर्ब ७ करोडले बचतमा रहेको छ । यो वर्ष सेवा आय अन्तर्गत भ्रमण आय १४.६ प्रतिशतले वृद्धि भई ६७ अर्ब ९ करोड रुपैयाँँ पुगेको छ भने भ्रमण खर्च ७९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस वर्ष विदेशबाट आउनेको तुलनामा विदेशमा गएर नेपालीहरुले ११ अर्ब ७० करोड रुपैयाँ बढी खर्च गरेका छन् । त्यस्तै यस वर्ष शिक्षाका लागि विदेश जाने नेपालीहरुले ३८ अर्ब ८ करोड रुपैयाँ विदेश पठाएका थिए ।
यस वर्ष नेपालमा आउने पर्यटकमा केही बढोत्तरी भएको थियो भने विदेशमा भएका दूतावासहरुको खर्चमा कमी आएको थियोे । विदेशी दूतावासले पनि अघिल्लो आर्थिक वर्षभन्दा केही बढी आम्दानी गरेका कारण यस वर्ष सेवा आय बचतमा देखिएको थियो ।
२०७३–०७४
यस आर्थिक वर्षमा सेवा आय १४.३ प्रतिशत र कुल सेवा खर्च २०.८ प्रतिशतले बढेका कारण खुद सेवा आय बचत २ अर्ब ८९ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय ४०.१ प्रतिशतले वृद्धि भएर ५८ अर्ब ५३ करोड पुगेको थियो ।
यस वर्ष नेपालबाबट विदेश जाने पर्यटकहरु ४१.७ प्रतिशतले वृद्धि भई ७९ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका थिए । त्यस्तै विदेशमा पढ्न जाने विद्यार्थीहरुबाट ३५ अर्ब २ करोड बाहिरिएको थियो । यस वर्ष सेवा आयतर्फ भ्रमणमा, शिक्षा, यातायात खर्चमा वृद्धि हुँदा सेवा क्षेत्रको बचत गत वर्षको भन्दा न्यून भएको हो ।
२०७२–०७३
यस आर्थिक वर्षमा सेवा आयमा ७.२ प्रतिशतले कमी आएको र कुल सेवा खर्च ५.७ प्रतिशतले वृद्धि भएका कारण खुद सेवा आय बचत ६४.३ प्रतिशतले घटेर ९ अर्ब ८५ करोडमा खुम्चिएको थियो । यस वर्ष सेवा खाता अन्तर्गत पर्यटन आय २१.८ प्रतिशतले घटेर ४१ अर्ब ७६ करोड रुपैयाँ उठेको छ ।
यस वर्षमा टुर, ट्राभल तथा ट्रेकिङ एजेन्सीको आय उल्लेख्य रुपमा घटेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । पर्यटन खर्च यस वर्ष ६.१ प्रतिशतले बढेर ५६ अर्ब ४१ करोड पुगेको थियो । यस वर्ष शिक्षातर्फको खर्च १८ प्रतिशतले बढेर २० अर्ब १३ करोड पुगेको थियो ।
२०७१–०७२
यो आर्थिक वर्षमा सेवा क्षेत्रतर्फको आय १९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब २९ करोड बचतमा रहेको थियो । यस अन्तर्गत भ्रमण आयमा १५.२ प्रतिशतले वृद्धि भई ५३ अर्ब ४२ करोड रहेको थियो भने सरकारी सेवा आय ३३.४ प्रतिशतले र अन्य सेवा आय १६.६ प्रतिशतले वृद्धि भएको थियो ।
यस आर्थिक वर्षमा भ्रमण खर्च २६.१ प्रतिशतले वृद्धि भई ५३ अर्ब १९ करोड रहेको थियो । यस वर्षसम्म नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल आउने पर्यटकको संख्या र उनीहरुले गर्ने खर्च धेरै रहेको देखिन्छ ।