काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले सरकारले प्रतिबन्ध लगाएको ८ महिनामा नेत्रविक्रम चन्द विप्लव समुह छिन्नभिन्न भएको विषयलाई मुख्य समाचार बनाएको छ। ८ महिनमा विप्लव समुहका १ हजार १ सय १५ जना पक्राउ परेका छन् भने झन्डै ६ सयले पार्टी परित्याग गरेका छन् ।
यस्तै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग असुलेको अबैध रकम फिर्ता नगरेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ। सरकारले दिएको १५ दिने अल्टिमेटममा मेडिकल कलेजहरुले कुनै सुनवाइ नै नगरेको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिकाले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामन्त्री ओलीकै सल्लाहमा भारतले नक्सा छापेको भनि दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको छ ।
देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारमा परिणत भएको टिप्पणी गरेका थिए ।
आजको नागरिक दैनिकले सत्यनिरुपण र बेपत्ता आयोगको पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेपक हस्तक्षेप भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना प्रतिनिधि फिर्ता बोलाउन लागेको विषयलाई मुख्य समाचार बनाएको छ।
यस्तै कैलालीको टिकापुरस्थित शिवालयको नाममा रहेको सात सय बिघा जमिन हराएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । अहिले यो शिवालयको नाममा जम्मा ८ कठ्ठा १४ धुर मात्रै छ ।
अन्नपूर्ण पोस्ट्ले कास्की क्षेत्रनम्बर २ मा को उपनिर्वाचनका लागि बढेको सरगर्मीलाई मुख्य समाचार बनाएको छ । उसले दलीय प्रतिष्ठाको लडाइँ शीर्षकमा खबर लेखेको छ ।
यस्तै सधैँ उखु किसान सरकार र उद्योगीको चेपुवामा पर्ने गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकार मूल्य नतोक्ने, उद्योगी मूल्य बढाउन नदिने गर्दा किसान सधैँ मर्कामा पर्ने गरेको समाचारमा उल्लेख छ।
‘छिन्नभिन्न’ चन्द समूह
कान्तिपुरमा प्रकाशित समाचारअनुसार सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता–कार्यकर्ता भूमिगत छन् ।
प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता–कार्यकर्ता समातिइसकेका छन् । यस बीचमा दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विक, युवा संगठन केन्द्रीय अध्यक्ष बबिल केसी, नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्यायलगायतका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन् । ०७६ जेठ १९ मा पोलिटब्युरो सदस्य तथा पूर्वराज्यमन्त्री पदम राई सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । प्रतिबन्धपछि ५ सय ९६ जनाले पार्टी छाडेको प्रहरीको तथ्यांक छ ।
सुरक्षा स्रोतका अनुसार महासचिव चन्दसहित ५ सय १९ जनाको नाम प्रहरीले फरार सूचीमा राखेको छ । हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता–कार्यकर्ताविरुद्ध देशभरका अदालतमा १ हजार ८८ वटा मुद्दा दर्ता छन् ।
पक्राउ परेकामध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ८ सय ३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ । १ सय ३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।