काठमाडौ । निर्माण परियोजनामा भइरहेको ढिलासुस्तीसहित अन्य समस्यालाई लिएर एकतर्फी रुपमा निर्माण व्यवसायीलाई मात्र गालीगलौज गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरेर महासंघले भनेको छ, “गुणस्तरीय रुपमा कुनै पनि निर्माण परियोजना समयमै सम्पन्न गर्नका लागि निर्माण व्यवसायीको मात्र नभएर सरकारी संयन्त्रलगायतको समेत उत्तिकै महत्वपूर्ण भूमिका हुने कुरा सर्वविदितै छ ।”
विद्यमान सार्वजनिक खरिद कानुनअनुसार निर्माण कम्पनीले सरकारसँग तोकिएको समयमा काम गर्ने सम्झौता गरेपछि काम गर्ने ठाउँ तयार गर्ने, जग्गा प्राप्ति गर्ने, काम गर्ने सबैखाले वातावरण बनाउने जिम्मेवारी सरकारकै हुन आउने महासंघले जनाएको छ ।
साइट क्लियरेन्स, मुआब्जा, क्षतिपूर्ति समस्यालगायतका कारणले अधिकांश निर्माण परियोजनाहरुमा समस्या आएको तथ्यलाई स्विकार गर्दै महासंघले यस्ता समस्या समाधान गर्ने जिम्मेवारी राज्यका निकायहरुकै भएको बताएको छ ।
यसबाहेक सरकारी प्रतिबद्धताविपरित म्याद थपमा भइरहेको आलटाल, अव्यवहारिक ऐन कानून, भुक्तानीको समस्या, असुरक्षा, चन्दा आतंक, महंगी, निर्माणजन्य सामग्रीको अभाव, अदालतको आदेश, सरकारी संयन्त्रको समन्वय अभावजस्ता समस्याका कारण पनि धेरै निर्माण परियोजनाहरु समयमै सम्पन्न हुन नसकेको महासंघको भनाइ छ ।