आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २८ वाणिज्य बैंकको वित्तीय अवस्था : कुन बैंक कति नाफामा ?

२८ वाणिज्य बैंकको वित्तीय अवस्था : कुन बैंक कति नाफामा ?

२८ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- २८ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

हरेक तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको नियमअनुसार वाणिज्य बैंकहरुको विवरण सार्वजनिक गरेका हुन्।

बैंकको स्प्रेडदर, नाफा, प्रतिसेयर आम्दानी तथा खराब कर्जाको आधारमा कुन बैंक कति राम्रो भनेर विश्लेषण हुने गरेको छ। विशेषगरी स्प्रेडदर बढी भएको बैंकको नाफा बढी हुन्छ। त्यसैगरी खराब कर्जा कम भएको बैंक सुरक्षित मानिन्छ। लगानीकर्ताको दृष्टिबाट हेर्ने हो भने जुन बैंकको प्रतिसेयर आम्दानी बढी हुन्छ, सो बैंकको सेयर किन्नु उपयुक्त हुन्छ। यही आधारमा नै दोस्रो बजारमा सेयरको किनबेच हुने गरेको छ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा सबैभन्दा बढी नाफा गर्ने बैंकमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सो बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, नबिल बैंकले पनि पहिलो तीन महिनामा १ अर्ब १२ करोड २३ लाख नाफा कमाएको छ।

सरकारी बैंकमध्ये सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने निजी क्षेत्रको बैंकमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। त्यस्तै, सबैभन्दा कम कमाउने वाणिज्य बैंकमा सिभिल बैंक रहेको छ। सो बैंकले १५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ। 

सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकको रहेको छ। सो बैंकको खराब कर्जा ३.७० प्रतिशत रहेको छ। सबैभन्दा कम खराब कर्जा भएको वाणिज्य बैंकमा नेपाल एसबिआइ बैंक र एभरेष्ट बैंक रहेका छन्। उनीहरुको खराब कर्जा ०.१७ प्रतिशत रहेको छ।

त्यसैगरी, सबैभन्दा बढी स्प्रेडदर राखेर लगानी गर्नेमा पनि राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सो बैंकले ५.९६ प्रतिशत स्प्रेडदर कायम राखेर लगानी गरेको थियो। जबकी नबिल बैंकले ४.४५ प्रतिशतको स्प्रेडदर कायम गरेर लगानी गरेको थियो।

प्रतिसेयर आम्दानीमा सबैभन्दा बढी नबिल बैंकको नै रहेको छ। सो बैंकको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रकाशित: Nov 18, 2019| 06:42 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्