काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन्। छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा भण्डारीले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छिन्। छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुर्याकउन सकोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छिन्।
यस्तै छठपर्वकै अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन्। उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन्। “यो कृतज्ञता र प्रकाशको चाड हो। यो न्यानोपनको चाड हो। यो जीवनको र सृष्टिको चाड हो। यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।” उनले सन्देशमा भनेका छन्।
प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख, समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताए। “छठपर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ।”,उनले भनेका छन्। छठपर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गरेका छन्। उनले स्वेदश तथा विदेशमा बसेर छठपर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४