शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • विवादित कुरिल टापुमा पुटिनको भ्रमणप्रति जापानको कडा आपत्ति

विवादित कुरिल टापुमा पुटिनको भ्रमणप्रति जापानको कडा आपत्ति

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको पहिलो भ्रमणलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै कडा आपत्ति जनाएकी छन्।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार कुरिल टापु शृङ्खलाको इटुरुप टापुको भ्रमण गरेका थिए। जापानले उक्त टापुलाई एतोरोफु नामले चिन्ने गर्दछ र यो जापान तथा रुस दुवैले आफ्नो दाबी गर्ने चार विवादित टापुमध्ये एक हो।

प्रधानमन्त्री ताकाइचीले पुटिनको भ्रमणले जापानी जनतामा रुसप्रतिको धारणा थप नकारात्मक बनेको बताउँदै ती टापुहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुनअनुसार जापानको अभिन्न भूभाग भएको दाबी गरिन्। जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले पनि पुटिनको भ्रमणप्रति औपचारिक विरोध जनाएका छन्।

कुरिल टापुहरू उत्तरी जापानको होक्काइदो र रुसको कामचाट्का प्रायद्वीपबीच अवस्थित छन्। दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सङ्घले टापुहरू आफ्नो नियन्त्रणमा लिएपछि जापान र रुसबीच दशकौँदेखि भूभागसम्बन्धी विवाद जारी छ। यही विवादका कारण दुई देशले दोस्रो विश्वयुद्धपछि औपचारिक शान्ति सन्धिसमेत गर्न सकेका छैनन्।

पुटिनले भ्रमणका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै समुद्री माछाको अण्डाको परिकार चाखेको रुसी सञ्चारमाध्यमले जनाएका छन्। रुसले पछिल्लो दशकमा यी टापुहरूमा आफ्नो सैन्य उपस्थिति उल्लेख्य रूपमा बढाएको छ। इटुरुप टापु यस क्षेत्रमा रुसको प्रमुख सैन्य हवाई अड्डाका रूपमा प्रयोग हुँदै आएको छ।

युक्रेनमाथि रुसको आक्रमणपछि जापानले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको छ, जसका कारण दुई देशबीचको सम्बन्ध थप चिसिएको छ। यसअघि पनि रुसी प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीले विवादित टापुको भ्रमण गर्दा जापानले पटकपटक विरोध जनाउँदै आएको छ। रुसले ती टापु आसपास नियमित सैन्य अभ्यास गर्दै आएको विषयमा पनि जापानले आपत्ति जनाउँदै आएको छ।

प्रकाशित: Aug 14, 2026| 06:24 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्