काठमाडौं – काठमाडौंबाट शनिबार प्रकाशित राष्ट्रिय दैनिकहरुमा विविध खबरहरुले प्राथमिकता पाएका छन्।
आजको नयाँ पत्रिकाले सिडिओहरुको कार्यसम्पादन मुल्याङ्कनको तथ्याङ्कलाई प्रमुख समाचार बनाएको छ भने नागरिकले छठ पर्वको समाचारलाई साँघुरिँदो नदीमा फैलिँदो छठ शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै कान्तिपुर र अन्नपूर्ण पोष्टले पनि छठ पर्वमा सिँगारिएका ताल तथा पोखरीका तस्बिरलाई सुरुमै छापेका छन्।
७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड : पाँचलाई ए प्लस
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी तोकेका छन्। अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो। मन्त्रालयले महाशाखाका प्रमुख, तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीसँग गत वर्ष सम्झौता गरेको थियो। माघदेखि असारसम्मको कार्यसम्पादन मूल्याङ्कन गरेर मन्त्रालयले सिडिओहरुको प्राप्ताङ्क, प्रतिशत र ग्रेडिङ गरेको छ। यसबाट सिडिओहरु बीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृहले जनाएको छ।
मूल्याङ्कन मा ए प्लस प्राप्त गर्नेमा पहिलो नं मा बर्दीयाका रामबहादुर कुरुम्बाङ रहेका छन्। उनले ९२ दशमलव १६ प्रतिशत प्राप्त गरेका छन्। यस्तै दोस्रो देखि पाँचौंसम्म क्रमश अर्घाखाँचीका प्रेमलाल लामिछाने(९१.८६ प्रतिशत), रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी (९०.६९ प्रतिशत), चितवनका जितेन्द्र बस्नेत(९०.५९ प्रतिशत) र रुपन्देहीका उदय राना र अर्जुन पोखरेल(९०.२० प्रतिशत) छन्।
मन्त्रालयले मूल्याङ्कन गर्दा शान्तिसुरक्षा तथा अमनचयनमा ४६ नम्बर राखेको थियो। यस्तै सुशासन तथा सेवा प्रवाहमा २७, शासकीय सुधार र रुपान्तरणमा ८, विपद् व्यवस्थापनमा १०, समन्वय तथा सहजीकरणमा ५ तथा सदाचार तथा आर्थिक अनुशासनमा ६ नम्बर राखेर मूल्याङ्कन गरेको थियो। मन्त्रालयले अन्य देशसँग सीमा जोडिएका जिल्लाका सिडिओलाई १०२ तथा अन्य जिल्लाका सिडिओलाई ९९ नम्बरको पूर्णाङ्कमा मूल्याङ्कन गरेको थियो। (नयाँ पत्रिका)
साँघुरिँदो नदीमा फैलिँदो छठ
बढ्दो सहरीकणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन्। यिनै साँघुरा नदी तथा पोखरीका किनारामा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ। परिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ। एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ। त्यसको झल्को राजधानीका नदी किनार तथा पोखरीमा देखिन्छ। (नागरिक)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४