काठमाडौं- ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कात्तिक नाच ललितपुरको पाटनस्थित कात्तिक डबलीमा आज सुरु हुँदैछ।
कात्तिक शुक्ल प्रतिपदामा सुरु हुने यो नाच १२ दिनसम्म देखाइन्छ।
यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित बेग्लाबेग्लै नाच देखाइन्छ। कात्तिक नाच संरक्षण समितिका अनुसार यसको प्रमुख र विशेष नाच नृसिंह नाच हो। यो हिरण्यकश्यपुलाई नृसिंहले वध गरिने नाच हो।
कात्तिक महिनाभर नाच सञ्चालन गरिने भएकाले यसलाई कात्तिक नाच भनिएको हो।
कुनै बेला २७ दिनसम्म देखाइने यो नाचको अवधि पछिल्लो समय छोट्याइएको छ। आर्थिक अभावमा नाचको अवधि छोट्याइएको समितिले जनाएको छ।
यसरी सुरु भयो कात्तिक नाच
विकिपिडियाका अनुसार कात्तिक नाच ३७९ वर्षअघि सुरु भएको थियो। वि.सं. १६९७ मा राजा सिद्धिनरसिंह मल्लले गुरू तथा ज्योतिषको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक नाच चलाएका थिए।
त्यतिबेला सो नाच पाँच दिनसम्म देखाइन्थ्यो। पछि उनका छोरा श्री निवास मल्लले नाचको अवधि सात दिन थपेर १५ दिन पुर्याए। त्यसपछि श्री निवासका छोरा योगनरेन्द्र मल्लले नाचको अवधि २७ दिन पुर्याएका थिए।
यो नाच मल्लकालमा सुरु गरिएकोले यसले त्यस बेलाको समयलाई प्रतिनिधित्व गरेको संस्कृतिविद् बताउँछन्। उनीहरूका अनुसार नाचमा त्यो समयका मानिसको रहनसहन, व्यवहार तथा सांस्कृतिक गतिविधिलाई प्रस्तुत गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४