जनकपुरधाम- स्थानीय प्रशासनले जनकपुर परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको छ।
छठ पर्वलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको परिक्रमा क्षेत्रभित्र मदिरा, माछा, मासु सेवन, बिक्री वितरण तथा कारोबारमा तीन दिन रोक लगाएको हो।
विहिबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना जारी गर्दै शुक्रबारदेखि सुरु हुने छठको मुख्य विधि खरनादेखि आइतबार बिहानको अर्घ दिइने दिनसम्म मदिरा, माछा, मासु सेवन तथा बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएका छन्।
छठ पर्वलाई मध्यनजर गरी धार्मिक, सहिष्णुता, साम्प्रदायिकता एवं पारिस्परिक हितको दृष्टिले जनकपुरको परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र मदिरा, माछा–मासुको सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कँणेलले बताए।
जिल्ला प्रशासनले जारी गरेको सूचना पालन गर्नमा सहयोगको आग्रह गर्दै सूचना विपरित गरे प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४