काठमाडौं- धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
बुधबार बिहान अस्पताल भर्ना भई डायलासिस गराइरहेका नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बिहीबार दिउँसो अस्पताल पुगेका हुन्।
प्रचण्डले ओलीलाई भेटेर आफूले कुराकानी गरेको र आजै बालुवाटार फर्किन सक्ने अवस्था रहेको प्रतिक्रिया दिए ।
सञ्चारकर्मीहरुसँग संक्षिप्तमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस भएको र नियमित डायलासिस गर्नुपर्नेबारे चिकित्सकहरुले आफूलाई केही नभनेको बताए ।
प्रधानमन्त्री ओलीको बुधबार डायलासिस गरिएको थियो भने बिहीबार दोस्रो पटक डायलासिस गरिएकाे छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार दोस्रो डायलासिसपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किने सम्भावना रहेको छ।
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले यसअघि लामो समय सिंगापुर बसेर उपचार गराएका थिए।
केही दिनयता शरीरमा पानीको मात्रा बढ्ने, पिसाबमा समस्या देखिने तथा सुन्निने समस्या भएपछि बुधबार बिहान प्रधानमन्त्री ओलीलाई ग्रान्डी अस्पतालमा भर्ना गरेर आइसियुमा राखिएको थियो।
पहिलो डायलासिस गरेपछि बुधबार साँझ उनलाई क्याबिनमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४