धनगढी- कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा एकको ज्यान गएको छ भने एक घाइते भएका छन्।
जिल्लाको घोडाघाडी नगरपालिका-२, साडेपानीमा बिहीबार दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीय ५० वर्षीया देवीराम आचार्यको ज्यान गएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से७प ८७५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा से७प ८७५० नम्बरको मोटरसाइकल चालक ४६ वर्षीय ईन्द्र आचार्य घाइते छन्। उनको घोडाघोडी अस्पताल, सुखडमा उपचार भइरहेको छ।
प्रहरीले अनटेस्ट मोटरसाइकल चालक घोडाघाडी नगरपालिका-८ का २३ वर्षीय लोकेन्द्र गुरुङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४