काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्री केपीशर्मा ओली अकस्मात पुनः अस्वस्थ भएपछि अस्पताल भर्ना भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
प्रधानमन्त्री बुधबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको सचिवालय र सल्लाहाकारले सामान्य परिक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको भनेपनि उनलाई आईसीयूमा राखेर उपचार गरिराखिएको छ ।
ज्वरो आउने, टाउको दुख्ने र शरिरका विभिन्न भाग सुन्निने जस्ता समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।
प्रधानमन्त्री अस्पतालमा भर्ना भएको विषयलाई नयाँ पत्रिकाले प्रधानमन्त्रीको स्वास्थ्यः प्लाज्मा फेरेसिस गरेको करिब दुई महिनामा अल्ट्रा फिल्ट्रेसन उपचार सुरु शीर्षकमा मुख्य समाचार छापेको छ । रगतमा विकारको मात्रा अत्याधिक भएपछि अल्ट्रा फिल्ट्रेसन प्रक्रिया अपनाइएको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्रीको डायलाइसिस शीर्षकमा खबर लेखेको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतलाई उदृत गर्दै कान्तिपुरले उल्लेख गरेको छ ।
नागरिक दैनिकले अस्पतालमा प्रधानमन्त्री शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले ग्रान्डीले जारी गरेको विज्ञप्तिका आधारमा ओलीको स्वास्थ्य अवस्था सामान्य शीर्षक दिएर खबर छापेको छ ।
यो विषय बाहेक कान्तिपुरले म्याग्दीका निर्मल पुर्जाले ६ महिना ६ दिनमा विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले उपनिर्वाचनको तयारीमा दलः कसले मार्ला बाजी शीर्षकमा मुख्य समाचार छापेको छ । अन्नपूर्ण पोस्ट्ले उपत्यकामा रगत अभाव भएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
यस्तै आजका पत्रपत्रिकाले नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएको विषयलाई पनि महत्वका साथ छापेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य : प्लाज्मा फेरेसिस गरेको करिब दुई महिनामा अल्ट्रा–फिल्ट्रेसन उपचार सुरु
प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल भर्ना भएका छन् । नियमित जाँचका लागि अस्पताल पुगेका उनलाई चिकित्सकहरूले भर्ना नै गरेर उपचार गरिरहेका छन् ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा हानिकारक तत्व क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।
‘शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका हो,’ ती चिकित्सकले नयाँ पत्रिकासँग भने, ‘तत्कालका लागि जरुरत पर्दा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरिन्छ ।’ बुधबार रातिसम्म पनि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आइनसकेकाले डायलाइसिस गर्नुपर्ने वा नपर्ने यकिन नभएको चिकित्सकको भनाइ छ ।
नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार प्रधानमन्त्रीको अनुहार र शरीरका केही भागमा स्वायलिङ (सुन्निने) समस्या देखिएको अस्पताल स्रोतले जनायो ।
ज्वरोसमेत बढेको छ । विगतमा पनि कहिलेकाहीँ यस्तो समस्या देखिँदै आएको थियो । अस्पतालले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ ।
‘उहाँको स्वास्थ्य स्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलि (बिहीबार) बिहानसम्म डिस्चार्ज गरिनेछ,’ ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी ग्रान्डीकै नेफ्रोलोजी विभागकी अध्यक्ष डा. दिव्या सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपत्यकामा रगत अभाव
अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या भएको छ।
रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ।
मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका आफन्त बुधबार रगतको खोजीमा भौंतारिए। जनकपुरका ठाकुरलाई दुई पिन्ट ओ पोजेटिभ रगत चाहिएको थियो। आफन्त डा. निशान्तले भने, ‘रगतका लागि सबै ठाउँमा सोधपुछ गर्यौं। तत्कालै चाहिने हो भने डोनर (दाता) ल्याउनुस् भनेर फर्काए।’
ठाकुरको हेमोग्लोबिन न्यून भएकाले नियमित डायलाइसिसका लागि रगत आवश्यक परेको हो।
रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रले पनि रगत अभाव भएको जनाएको छ। केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भनिन्, ‘चाडबाड भएकाले रक्तदान कार्यक्रम हुन सकेन। पर्याप्त रगत संकलन हुन नसकेकाले अभाव भएको हो।’
काठमाडौं, भक्तपुर र ललितपुरमा रगत अभाव देखिएको हो। दैनिक दुई सय ५० पिन्ट रगत माग छ। दसैं, तिहार, छठलगायतका चाडपर्वका कारण रक्तदान नहुँदा मौज्दातमा राखिएको रगत सकिन लागेको डा. कर्णिकारले बताइन्। दसैंअघि डेंगुको प्रकोप भएका बेला रगत उपयोग बढी भएकाले अहिले अभाव देखिन थालेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४