काठमाडौं- नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ अबेरसम्म अस्पतालमै छन्।
बिहान ९ बजे बालुवाटारबाट सिधै ग्राण्डी गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार अस्पतालमै रहन सक्ने अस्पतालले जनाएको छ।
बुधबारसाँझ अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको र सकिएपछि बुधबार साँझ वा बिहीबार बिहान डिस्चार्ज हुने उल्लेख गरेको छ।
अस्पतालका मेडिकल डारेक्टर डा. चक्रराज पाण्डेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। आवश्यक परीक्षणहरु पुरा भएपछि आज राती वा भोलिसम्म यस अस्पतालबाट डिस्चार्ज गरिनेछ।’
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामान्य स्वास्थ्य परीक्षणका लागि मात्रै अस्पताल भर्ना भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
केही समयअघि सिंगापुरमा लामो समय बसेर उपचार गराएका प्रधानमन्त्री ओली त्यसपछि दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका हुन्।
मिर्गौला प्रत्यारोपण गरेका ओली समयसमयमा यसअघि पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुने गरेकोमा पछिल्लो पटक मुटुमा समस्या देखिएपछि महाराजगंजस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टमा भर्ना भएर परीक्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४