जनकपुरधाम- सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेशसँगको आफ्नो ‘लभ’ कायमै रहेको बताएका छन्।
दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिएका प्रचण्डले चुनावी सभामा पहिलोपटक मधेशसँग ‘लभ’ परेको वक्तव्य दिएका थिए।
उपचुनावलाई लक्षित गरी पार्टीको महोत्तरी कार्यसमितिले बुधबार पिपरा गाउँपालिकाको पिपरामा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मधेशसँग परेको मेरो ‘लभ’ निरन्तर कायम रहनेछ, प्रतिवद्धता दोहोर्याउन चाहन्छु।’
मधेशमा व्यापक भ्रष्टाचार रहेको जिकिर गर्दै उनले व्याप्त भ्रष्टाचार र बेथिति रोक्न यहाँका जनताले नै आवाज उठाउनेपर्ने स्पष्ट पारे। मधेशलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै संविधान संशोधनका लागि नेकपा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने उनले बताए। मधेश भ्रष्टाचारको विरोधमा रहेको र मधेशको साथमा नेकपा रहेको उनको भनाइ थियो।
मधेशकै मत पाएर दोस्रोपटक प्रधानमन्त्री बत्रे मौका पाएको भन्दै उपेन्द्र यादवसित आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरी संविधान संशोधनको प्रतिबद्धता जनाएको स्मरण गरे। संविधान संशोधनको प्रयास भइरहेको भन्दै संविधान संशोधनमा शंका नगर्न उनले आग्रह गरे।
चार वर्षदेखि निर्माणाधीन जनकपुर–भिठ्ठामोड सडक खण्ड तयार हुन नसक्दा उनले आक्रोश पोखेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले जनकपुर–भिठ्ठामोड सडक खण्डक निर्माण कार्यमा बढाउन विभागीय मन्त्री रघुवीर महासेठसँग माग गरे। कुनै बहानामा निर्माण कार्यमा ढिलाइ भए पार्टी अध्यक्षको हैसियतले आफूपनि आन्दोलनमा उत्रिने प्रचण्डले बताए।
आसत्र उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै उनले भ्रष्टाचारमुक्त नेतृत्व चैन गर्ने राम्रो अवसर रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४