शनिबार, साउन ३०, २०८३

तिहारमा निराश वृद्धाश्रमका ज्येष्ठ नागरिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पशुपति वृद्धाश्रममा जीवन बिताइरहेकी ७० वर्षीय सीता कार्कीलाई अरु दिन सामान्य लागे पनि चाडपर्वमा भने परिवारको सम्झनाले एक्लो बनाउँछ। कारण हो- परिवारबाट अलग्गिनुको पीडा। “चाडबाड सुरु भयो कि मन कुँडिन्छ,” उनले सुनाउँछिन्। 

७ वर्षअघि आश्रममा आएकी थिइन् उनी। त्यो दिन उनलाई अझै याद छ। आफ्नै भाइले आश्रममा ल्याएर छाडेकाले त्यो दिन कहिल्यै नबिर्सने उनी बताउँछिन्। “श्रीमानले अर्काे श्रीमती ल्याए, छोराले पनि वास्ता गरेन,” उनले दुखेसो पोखिन्, “त्यसपछि आश्रय लिन माइती गएँ । आमाबुबा नभएकाले त्यहाँ पनि हेला भएँ ।”

अन्य समयमा परिवारले वास्ता नगरे पनि चाडबाडमा भने सम्झिए हुन्थ्यो भन्ने उनलाई लाग्छ। तिहार भने उनलाई कहिल्यै नआइदियोस् भन्ने लाग्छ। आफ्नै भाइले आश्रममा छाडेकाले तिहार नआइदिए जस्तो लाग्ने उनी बताउँछिन्। 

सोही वृद्धाश्रममा २२ वर्षदेखि आश्रय लिइरहेकी दोलखाकी ८० वर्षीया पम्फ कार्की पनि चाडपर्वमा आमाबुबालाई सम्झिन्छिन्। उनले ५० वर्षअघि ज्वरोका कारण एकै वर्ष आमाबुबा र बहिनी गुमाएकी थिइन् । तर, उनको अनुहारमा आमाबुबा गुमाउनुको पीडा आलो देखिन्छ। 

आश्रममा आउनेले घर कहाँ हो भनी सोध्दा उनले व्यंग्यात्मक उत्तर दिन्छिन्- घर भएको भए यहाँ किन आउनुपर्थ्यो ? 

उनका दाजुभाइ छैनन्। त्यसैले पहिले उनले दाजुभाइको अभाव महसुस गरेकी थिइन्। अहिले भने उनलाई त्यस्तो महसुस हुने गरेको छैन। “पहिले अरुका दाजुबहिनी–दिदीभाइ तिहारमा रमाएको देख्दा मलाई दाजुभाइ भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो,” उनी भन्छिन्, “तर, अहिले दाजुभाइ भए पनि मेरो हालत यस्तै हुन्थ्यो जस्तो लागेर चित्त बुझाउँछु ।” 

उनी अविवाहित हुन् । बिहे नगरेकोमा उनलाई पछुतो छैन। लाखौं-करोडौं सम्पत्ति र छोरा-नाति भएकासमेत बुढेसकालमा एक्लिएको देख्दा उनलाई बिहे नगरेकै ठीक लागेको छ। 

वृद्धाश्रमका आश्रय जीवन बिताउनेमा पर्छिन्, काभ्रेकी धनमाया जंगम । 

उनले आफ्नो ऊर्जाशील समय आफ्नो परिवार तथा सन्तानका लागि बिताइन्। आफ्ना दुई सन्तानलाई शिक्षित बनाइन्। तर, अहिले उनकाे जीवन वृद्धाश्रममा बितिरहेको छ । श्रीमान बितेपछि एक्लो बनेकी जंगमले आश्रममा असहायजस्तै जीवन बिताउन थालेको वर्षाैं बितेको छ। तैपनि उनमा छोराछोरी लिन आउँछन् भन्ने आश मरेको छैन। न सन्तानप्रतिको माया नै मरेको छ। उनी आफूले पाउने वृद्धभत्ता सन्तानका लागि साँचेर राखेको बताउँछिन्। 

उनी पशुपतिमै एक जनालाई भाइटीका लगाउँछिन् । तिहारका लागि किनेको भाइमसला देखाउँदै उनी भन्छिन्, “आफ्नै भाइले वास्ता नगरेपछि यहाँ भाइ बनाएको छु, उसैलाई टीका लगाउँछु ।” 
पशुपति वृद्धाश्रममै पाँच वर्षदेखि बसिरहेका चन्द्र पनि निरास छन्। उनी पनि चाडबाडको बेला आफन्तको याद आउने गरेको बताउँछन्। “अहिले आश्रमका मानिसलाई नै आफन्त मानेको छु,” उनी भन्छन्। 

समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमले दसैं-तिहारलगायत चाडबाडमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नयाँ कपडा र खानेकुरा बाँड्ने गरेको छ। तर, पनि वृद्धाश्रमका ज्येष्ठ नागरिकको मुहारमा खुसी छाउन सकेको छैन। उनीहरू नयाँ कपडा र खानेकुराभन्दा परिवार र सन्तानको माया खोजिरहेका छन्। 

उनीहरू भन्छन्, “हामीजस्ता अभागी बाबुआमालाई चाडपर्व नआएकै राम्रो लाग्छ। चाडपर्व जति नजिक आउँछ उति नै सन्तानको सम्झना आउँछ ।” 

आश्रममा आफूजस्तै अरू देख्दा अलिकति चित्त बुझे पनि परिवारको सम्झना आउने गरेको जंगम बताउँछिन्। “सानो हँुदा एकछिन छोड्न नमान्ने छोराछोरी ठूला भएपछि बाबुआमा छोड्न अघि सर्ने गरेको देख्दा नराम्रो लाग्छ,” उनी भन्छिन्। 

आश्रममा रहेका धेरैजसोका घर र परिवार छन्। तर, उनीहरूको ‘बुढेशकालको सहारा’ भने आश्रम बनेको छ। 

तीमध्ये कतिपयका छोराछोरी बेलाबेला भेट्न आउने गरेका छन्। “कहिलेकाहीँ छोराछोरी भेट्न आउँदा खुबै रमाइलो लाग्छ । तर, जाने बेला मरुझैं लाग्छ,” जंगम भन्छिन्, “मलाई मात्र छोराछोरीको माया लागेर के गर्नु, उनीहरूलाई मेरो माया लाग्दो रहेनछ।” 

समाज कल्याण केन्द्रका लेखापाल अमृत भण्डारीले चाडबाडका बेला सामाजिक अभियन्ता ज्येष्ठ नागरिकको खुसी फर्काउनका लागि काम गर्ने बताउँछन्। “यो बेला पशुपतिमा चहलपहल धेरै हुन्छ,” उनी भन्छन्। 

पशुपति आश्रममा हाल ६० वर्ष माथिका १५० ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।