अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलन गरी इस्लामिक स्टेट (आईएस)का नेता अबु बकर अल बग्दादी मारिएको जानकारी दिएका छन् ।
ट्रम्पका अनुसार अमेरिकी सेनाले सिरियामा गरेको कार्वाहीमा बग्दादी मारिएका हुन् ।
कार्वाहीमा अमेरिकी सेनातर्फ कुनै क्षति नभएको तर, बगदादी, उनका तीन सन्तान, दुई श्रीमती र उनका अन्य कार्यकर्ताहरु मारिएको बताइएको छ ।
अमेरिकी सेनाले बग्दादी रहेको घरमा कार्वाही गरेपछि बग्दादी त्यहाँबाट भागेर एउटा घातक सुरुङमा प्रवेश गरेका थिए । तर, अमेरिकी सेनाका कुकुरले बग्दादीलाई लखेट्न थालेपछि रुँदै, चिच्याउँदै गरेका बग्दादीले सुसाइड भेस्ट (शरीरमा जडान गरिएको बम) विस्फोट गराएर आफूलाई मारेको र त्यसक्रममा उनका तीन सन्तान समेत मारिएको ट्रम्पले बताएका छन् ।
विस्फोटबाट बग्दादी र उनका सन्तानका शरीर छिन्नभिन्न भए पनि डीएनए परीक्षणबाट मारिएका व्यक्ति बग्दादी र उनका सन्तान भएको पुष्टि गरिएको पनि ट्रम्पले बताएका छन् ।
“ऊ एक अपराधि थियो जसले अरुलाई त्रसित पार्न हरेक कोशिश ग¥यो तर, आफ्नो जीवनको अन्तिम क्षणमा ऊ आफैं भयभित थियो । अमेरिकी सेनाले उसको पिछा गरेर मृत्युको मुखसम्म पुर्यायो,” ट्रम्पले भनेका छन्– “अमेरिकी कुकुरले बग्दादीलाई निकै दौडाए, ऊ लगातार रुँदै चिच्याउँदै थियो । ऊ कायर थियो, जो मर्न डराउँथ्यो ।”
कार्वाहीका क्रममा अमेरिकी सेनाले निकै संवेदनशील जानकारी र वस्तु प्राप्त गरेको पनि ट्रम्पले जनाएका छन् । उनले कार्वाही सफल पार्नका लागि सिरिया र टर्कीले गरेको सहयोगका लागि ती देशलाई धन्यवाद पनि दिएका छन् ।
ट्रम्पले भनेका छन्, “अबु बकर अल बग्दादीको मृत्यु भइसकेको छ । ऊ इस्लामिक स्टेटको संस्थापक थियो । यो संसारकै सबैभन्दा हिंस्रक र क्रुर संगठन हो । अमेरिकाले धेरै वर्ष अघिदेखि बग्दादीलाई खोजिरहेको थियो ।”
को थिए बग्दादी ?
अबु बक्र अल बग्दादीको नामले चिनिने इब्राहिम अवाद इब्राहिम अल बादरी सन् १९७१ मा इराकमा निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका थिए ।
युनिभर्सिटी अफ बग्दादबाट इस्लामिक स्टडिजमा स्नातक ग्राजुएशन गरेका बग्दादीले सद्दाम युनिभर्सिटी फर इस्लामिक स्टडिजबाट कुरानमा मास्टर्स र पीएचडी गरेका थिए ।
विश्वविद्यालयको अध्ययनपछि कुरान पढाउने र फुटबलका स्टार समेत रहेका बग्दादी उनका काकाबाट प्रेरित भएर विद्रोही संगठन मुस्लिम ब्रदरहुडमा संलग्न भएका थिए । त्यसपछि बग्दादी रुढिबादी र हिंस्रक इस्लामिक मुभमेन्टप्रति आकर्षित भए ।
सन् २००३ मा इराकमा अमेरिकाले आक्रमण गरेको केही महिनापछि विद्रोही संगठन अल जमाहमा सहभागी भएपछि उनलाई सन् २००४ मा अमेरिकी सेनाले पक्राउ गरी १० महिना डिटेन्सन क्याम्पमा राखेको थियो ।
कैदबाट रिहा भएपछि इस्लामिक संगठन अल कायदामा सहभागी भई त्यसको प्रचारका लागि सिरियाको दमास्कस पुगेका बग्दादीले अर्को उग्रवादी संगठन इस्लामिक स्टेटका लागि काम गर्न शुरु गरे ।
इस्लामिक स्टेटमा सहभागी भएपछि संगठन विस्तारमा कुशल देखिएका उनी अप्रिल २०१९ मा आइएसका संस्थापक मारिएपछि आइएस प्रमुख बनेका थिए ।
आइएस प्रमुख बग्दादी विश्वका धेरै देशमा ‘वान्टेड’ व्यक्ति थिए । उनलाई अमेरिकाले आतंकवादी घोषणा गरी उनलाई पक्राउ गर्ने वा हत्या गरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।
सिरिया र इराकको ठूलो भूमिमा कब्जा जमाएर आइएस ले आतंकवादी गतिविधि चलाउँदै आएको थियो ।
६ महिनाअघि मात्रै श्रीलंकाका विभिन्न ठाउँमा विस्फोट र गोली प्रहारबाट २५९ जनाको मृत्यु भएको घटनाको जिम्मेवारी आईएसले नै लिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४