जनकपुरधाम- श्रद्धा र उल्लासपूर्वक आइतबार दीपावली मनाइँदै छ। दीपावलीको अवसरमा जनकपुरलाई दुलही झैँ सजाइएको छ।
जनकपुरको बजार क्षेत्रमा हरेक पसल अगाडि लगाइने केराको बोट तथा रंगीचङ्गी बत्तीहरुले दीपावलीमा जनकपुरको सुन्दरता बढाएको हुन्छ।
दीपावलीको दिन एकजोडी केराको बोट राखेर पसल सजाउने यहाँको वर्षौं पुरानो परम्परा छ। यहाँका हरेक पसल सञ्चालकहरुले केराको बोट किन्ने गरेका छन्। एक व्यापारीका अनुसार प्रतिजोडा केराको बोट ३ देखि ५ सय रुपैयाँसम्ममा बिक्री भएको छ।
यसैगरी साँझ हुने लक्ष्मी पूजाका लागि समान किनमेल गर्नेको पनि बजारमा उल्लेख्य भिडभाड देखिएको छ। विशेष गरेर जानकी मन्दिर क्षेत्रमा मिठाई, फलफूल, सजावट सामग्री किनमेल गर्नेको भिड लागेको छ।
लोप हुँदैछ परम्परागत दीपावली
आधुनिकताको प्रभाव बढेसँगै जनकपुरसहित यस क्षेत्रबाट परम्परागत दीपावली विस्तारै लोप हुँदै गरेको छ।
केही वर्षअघिसम्म माटोले बनाइएका दीप र टुकी बालेर साँझ दीपावली मनाइने परम्परा रहे पनि अहिले रंङ्कीचंङ्की बल्ब प्रयोग गर्न थालिएको छ।
पारम्परिक माटोको दीप प्रयोग गर्नेको संख्या कम हुँदै गएपछि आधुनिक बल्बहरुको बिक्रिमा समेत वृद्धि भएको छ।
आधुनिक खाले बल्बहरु प्रयोग हुन थालेपछि केही हदसम्म प्रदुषण नियन्त्रण भएको कतिपयको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४