काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बदनाम गराउन खोज्ने तत्त्व सक्रिय रहेको भन्दै तिनीहरूको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
यसअघि प्रधानमन्त्री केपी ओलीले सरकारको विरोध गर्नेहरुलाई अरिंगाल बनेर प्रस्तुत हुन निर्देशन गरेपछि त्यसको निकै आलोचना भएको थियो।
नेवाः मुक्ति मोर्चा नेपालले आइतबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले भने, “सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्त्व सक्रिय छन्। त्यस्ता तत्त्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहनेछ।”
उनले मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको बताए। पूर्वप्रधानमन्त्री दाहालले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको दाबी पनि गरे।
अध्यक्ष दाहालले नेपाल संंवतलाई साझा संंवतकारूपमा लैजानुपर्ने बताए। दाहाल प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरिए पनि अझै कार्यान्वयन भएको छैन। दाहालले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको ३० हजार रूपैयाँ ऋण मिनाहा गरिदिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४