शौचालय जान नसक्ने वा त्यसबारे भन्न नसक्ने साना नानीहरुलाई डायपर लगाइदिने प्रचलन अहिले सामान्य भइसकेको छ। तर, पिसाव चुहिने समस्याबाट ग्रस्त वयस्कहरुले पनि यस्तो डायपर प्रयोग गर्छन् र विश्व बजारमा यसको माग बच्चाको डायपरकै हाराहारी छ ।
विश्व जनसंख्याको ठूलो हिस्सा बुढो हुँदैछ र बढ्दो उमेरसँगै एडल्ट डायपरको माग पनि बढ्दो छ ।
विश्वमा एक दशकमा मात्रै वयस्कहरुले लगाउने डायपरको बजार दोब्बरले बढेको छ । यो वर्षमात्रै विश्व बजारमा एडल्ट डायपरको विक्री ९ प्रतिशतले बढेको छ । गत वर्ष यसको कारोबार ९ अर्ब डलर थियो।
वयस्क डायपर उद्योगहरुको आक्रमक बजार विस्तार र विज्ञापनका कारण मात्रै पनि आगामी वर्ष वयस्क डायपरको बजार बच्चाको डायपरभन्दा बढी हुने अनुमान गरिएको छ ।
यद्यपि, उत्पादक कम्पनीहरु डायपर लगाउनुपर्ने खालको समस्याबाट ग्रस्त विश्वका ४० करोड मानिसमध्ये आधाले मात्रै डायपरको उपयोग गरिरहेको बताउँछन् ।
डायपर खरिद गर्न वयस्कहरुले संकोच मान्ने गरेका कारण उत्पादक कम्पनीहरुले त्यस्तो संकोच हटाएर विक्री बढाउन विभिन्न उपाय अपनाइरहेका छन् ।
डायपरको प्याकेटमा न्यापी वा डायपर जस्ता शब्द उल्लेख नगर्ने, सुपरमार्केटमा एडल्ट डायपरलाई बच्चाको डायपरसँगै नराखेर टुथपेस्ट, डियो जस्ता सामानसँगै राखेर यसको बिक्री बढाउने रणनीति अख्तियार गरिरहेका छन् । यसका साथै विज्ञापनका माध्यमबाट पनि यो मुद्दामा बहस तीब्र बनाइँदैछ ।
जापानमा सन् २०१३ मै एडल्ट डायपर बिक्रीको आँकडा बच्चाको डायपरभन्दा धेरै थियो । एडल्ट डायपर बनाउने कम्पनी यूनीचार्म कर्पोरेशनका प्रवक्ता हितोशी वातानाबे भन्छन्, “हामी वयस्कहरुमा मुत्र प्रणालीमा समस्या आउनु सामान्य कुरा हो र यो युवाहरुमा हुनसक्छ भन्ने बुझाउने प्रयास गरिरहेका छौं ।” गत वर्ष यो कम्पनीले त्यसभन्दा अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बिक्री बढाएको छ ।
यस्तै अमेरिकी कम्पनी किम्बरले क्लार्कले गत वर्षदेखि हल्का र पातलो एडल्ट डायपर बजारमा ल्याएको छ । कम्पनीका अनुसार अधिकांश वयस्कहरु आफूले डायपर लगाएको अरुले थाहा नपाउन भन्ने चाहन्छन्, त्यसैले उसले अन्डरवेयर जस्तै हल्का र पातलो डायपर बजारमा ल्याएको हो ।
किम्बरले क्लार्ककी फियोना टामिलिन भन्छिन्, “मानिसहरु आफ्ना प्रियजनहरुसँग पनि यो कुरा खुलाउन चाहँदैनन् । आफ्ना पति, भाइ, बैनीलाई पनि आफूले डायपर लगाएको थाहा दिनु उनीहरुका लागि संकोचको विषय हुन्छ । तर, यो जीवनको वास्तविकता हो ।”
पिसाब चुहिने समस्या पुरुषमाभन्दा महिलामा बढी हुने गर्छ । विशेषगरी बच्चालाई जन्म दिएपछि महिलाहरुमा यो समस्या बढी हुन्छ । तर निकै कम महिलाहरु मात्रै यो विषयमा खुलेर कुरा गर्छंन् ।
सुत्केरी भएपछि पिसाब चुहिने समस्याबाट ग्रस्त ३१ वर्षीया एली फस्टर भन्छिन्, “शुरुमा एडल्ट डायपर किन्दा मलाई निकै संकोच लाग्थ्यो । आफू निकै वृद्ध महिलाहरुको ठाउँमा पुगेजस्तो लाग्थ्यो ।”
स्वीडेनको एउटा ब्राण्ड एसीटी महिलाहरुका लागि डिस्पोजेबल अंडरवेयर लोकप्रिय बनाउने कोशिशमा छ । उसको ट्याग लाइन छ, ‘अब रहस्य बाहिर आइसेको छ– प्रत्येक तीनमध्ये एक महिलामा यो समस्या छ ।’
मुत्रप्रणालीको समस्याका बारेमा जागरुकता बढाउने र बहस गराउने ‘ग्लोबल फोरम अन इन्कन्टिनेन्स’ का अनुसार १२ प्रतिशत महिलाहरु र पाँच प्रतिशत पुरुषहरु जीवनमा कुनै न कुनै बेला मुत्रथैलीको समस्याबाट प्रभावित हुन्छन् ।
एसीटीकी उलरिका कोल्सरुन्ड भन्छिन्, “यदि इन्कन्टिनेन्स एउटा देश हुँदो हो त, यो विश्वको तेस्रो ठूलो देश हुने थियो ।” उनको आशय इन्कन्टिनेन्सबाट प्रभावित मानिसहरुको संख्या निकै ठूलो भन्ने थियो ।
एडल्ट डायपरको आवश्यकता बढिरहेको छ । कम्पनीहरु आफ्ना उत्पादन बढीभन्दा बढी बेच्न र मानिसहरुलाई सहजरुपमा उपलब्ध गराउन प्रयासरत छन् ।
यि सबका बीच अर्को सत्य के पनि हो भने, स्यानिटरी प्याड, बच्चाको डायपर र एडल्ट डायपर पर्यावरका लागि निकै हानिकारक हुन्छन् । यस्ता डायपर र प्याड प्राकृतिक रुपमा गल्न सयौं वर्ष लाग्छ ।
यस्तो समस्यालाई ध्यानमा राख्दै कम्पनीहरुले आरामादायी मात्रै होइन इको फ्रेन्डली विकल्पमा पनि ध्यान दिनुपर्छ ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४