अछाम- दसैँको गहनाको रुपमा रहेको पिङ स्थानीय भाषामा ‘माली’ गाउँघरमा हराउँदै गएको छ। केही वर्ष अघिसम्म दसैँ आउन एक हप्ता अघिदेखि नै गाउँगाउँ र टोलटोलमा पिङ खेल्दै गरेका दृश्यहरू अहिले भने देखिनै छोडेका छन्। पुरानो पुस्ताले बाबियाको डोरी बाटेर रुखमा पिङ हाल्दै बालबालिकादेखि वृद्घवृद्घासमेतले खेल्ने गरेका दृश्य दुर्लभ भएका छन्।
नयाँ पुस्तामा परम्परागत रीतिरिवाज र चालचलन आत्मसाथ गर्ने चेतना हराउँदै गएकाले दसैँमा पिङ हाल्ने परम्परा पनि लोप हुँदै गएको अछाम नन्देगडाका यज्ञप्रसाद उपाध्यायको ठम्याइ छ। पुरानो पुस्तामा दसैँको समयमा बालबालिकादेखि वृद्घवृद्घासमेतले एक पटक पिङमा खुट्टा टेक्नै पर्ने मान्यता रहेको सुनाउँदै उपाध्यायले नयाँ पुस्तामा भने पिङको महत्व घट्दै गइरहेको सुनाए। पुरानो पुस्तामा आ–आफ्नो मेलाबाट बाबियो ल्याएर रातभर पिङ बाट्ने गरेका दिनहरू उनी सम्झन्छन्।
‘जसरी दसैँ मनाउने पुराना प्रचलनहरू लोप हुँदै गइरहेका छन्, त्यसैगरी दसैँको प्रमुख गहना पिङसमेत लोप हुन लागेको छ’, षोडशाका हिरासिंह बुढाले भने, ‘हामी सानो छँदा त प्रत्येक टोल टोलमा पिङ हुन्थे अहिले भने कतै देख्न पाईँदैन।’ बर्खायाममा मेलापातमा उम्रिने बाबियोबाट ‘माली’ बाटेर दसैँ आउनुभन्दा १५–२० दिन अघिदेखिनै खेतबारीका रुखमा हाल्ने गरिएको बुढाले सम्झिए।
पुरानो पुस्ताबाट नयाँ पुस्तामा माली बाटेर खेल्ने प्रचलन पुस्तान्तरण हुन नसकेको उनले बताए। आफ्नो पालामा टाढाटाढा मेलापातमा रहेको बाबियो जुनेली रातमा चोरेर माली बाट्ने गरेको उनले सम्झिए। ‘त्यति मात्र होइन गाउँभरिमा सबै भन्दा बलियो र लामो माली कसले बाट्ने भन्ने प्रतिस्पर्धानै चल्ने गर्दथ्यो’, बुढाले भने, ‘बालबालिकादेखि वृद्घवृद्घासम्म ‘चुइँ माली चुइँ’ गर्दै माली खेलेका दृश्य लोप भैसके।’
बाबियोको जोहो गर्नेदेखि माली बाट्नेसम्ममा युवायुवती सबैको संलग्नता हुने भएकाले त्यसले दाजुभाइ र दिदीबहिनीबीच आत्मीय सम्बन्ध बढ्नुका साथै नयाँ पुस्तामा सामूहिक कार्य गर्न एकजुट हुनसमेत सिकाउँथ्यो।
जसरी दसैँको प्रमुख गहना माली लोप हुन थालेको छ त्यसैगरी दसैँ मनाइने थुप्रै परम्परासमेत हराउँदै जान थालेका छन्। पहिले प्राय गाउँमा घटस्थापनाको साँझबाट नै मन्दिरमा नौरथा बस्ने गरिन्थ्यो भने त्यो प्रचलन पनि हराउँदै गएको छ।
अहिले दसैँ मनाउने गाउँमा त्यसको एक दुई दिन पहिलेबाट मात्र पञ्चेबाजा बजाउने गरिन्छ भने कुनै गाउँमा त बाजा बजाउने समुदायको अभावमा बाजाबिनाकै दसैँ पनि हुन थालेको नन्देगडाकै भीमप्रसाद उपाध्यायले सुनाए।
बसाइसराईको कारणले बाजा बजाउने ‘दमाई’ र ‘बाहुन’ को अभाव भएपछि थुप्रै गाउँमा दसैँ न्यास्रो भएको छ। पहिले अघिल्लो दिनदेखि मध्यरातसम्म मन्दिरमा पूजाआजा हुने र दसैँ मनाउने गरिएकोमा अहिले भने अधिकांश गाउँमा बिहानै दसैँ मनाउन थालिएको छ। राती मदिरा सेवन गरेर झै–झगडाको सम्भावना भएकाले दिउँसै दसैँ मनाउन सुरु गरिएको भीमप्रसादले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४