शुक्रबार, साउन २९, २०८३

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ। करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको हो।

समुद्र सतहबाट करिब दुई हजार ३३० मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भूउपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लागिरहने स्थान पहिचान गरिएको थियो। खिजीदेम्बा गाउँपालिकाको समन्वय तथा जर्मनीको  संस्थाअन्तर्गतको जिआइजेड-आइकेआई ग्रान्ट (जर्मन सरकारद्वारा जलवायु परिवर्तन, जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्न प्रदान गरिने अनुदान)को आर्थिक सहयोगमा दि स्मल अर्थ (सेन) नेपालले यो प्रयोगात्मक अनुसन्धान आयोजना सम्पन्न गरेको हो। 

करिब रु एक करोडको लागतमा आयोजना निर्माण गरिएको स्मल अर्थ नेपालले जनाएको छ। उक्त आयोजना स्थानीयको खानेपानी अभाव पूरा गर्न कुहिरोबाट पानी सङ्कलन गर्ने सम्भाव्यता अध्ययन गरी अनुसन्धान गर्न सञ्चालन गरिएको आयोजना रहेको अनुसन्धान टोलीकी सदस्य डा. निरिना खड्गीले बताइन्। उनका अनुसार करिब दुई वर्षमा आयोजना सम्पन्न गरिएको हो।

'यो आयोजना विशेष गरी हिउँद समयलाई ध्यानमा राखेर सञ्चालन गरिएको हो। यो प्रविधिले वर्षाको पानी पनि सङ्कलन गर्न उपयुक्त देखिएकाले कुहिरो र वर्षाको पानीसमेत सङ्कलन गर्ने व्यवस्था मिलाएका छौँ', उनले भनिन्, 'अहिले मनसुनका कारण ट्याङ्की भरिएर पानी पोखिने अवस्था भइरहेको छ। तर, यसको प्रभावकारिता हेर्न भने हिउँदयाम कुर्नुपर्ने हुन्छ।' 

अनुसन्धानकर्ता डा खड्गीका अनुसार उक्त आयोजनामा १० वटा ‘फग हार्भेस्टिङ युनिट’ जडान गरिएका छन्। 'यो जडान गर्न विशेष जालीको आवश्यकता पर्छ। घाम र मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने ‘युभीट्रिटेड’ (पराबैजनी किरणको असर रोक्न वा सहनसक्ने गरी विशेष प्रक्रियाद्वारा तयार गरिएको वस्तु) जाली चीनबाट आयात गरिएका हुन्। अन्य सामग्री भने नेपालमै खरिद गरिएको हो', उनले भनिन्।

यी सामग्रीको जडानबाट जालीमा अडिएका कुहिरोका कणहरू थोपा बनेर खस्ने जनाउँदै अनुसन्धानकर्ता डा खड्गीले त्यसलाई सङ्कलन गरी दुई सय/दुई सय लिटरका ट्याङ्कीमा पठाउने व्यवस्था मिलाइएको उल्लेख गरिन्। उनका अनुसार सङ्कलित पानीलाई पिउनयोग्य बनाउन प्राकृतिक जैविक  विधि ‘बायो स्यान्ड फिल्टर’ प्रयोग गरिएको छ। 

उक्त फिल्टरमा बालुवा र गिट्टीको तह प्रयोग गरी पानी शुद्धीकरण गर्ने संरचना निर्माण गरिएको अनुसन्धानकर्ता डा खड्गीले जानकारी दिइन्। शुद्धीकरण गरिएको पानी दुई हजार लिटर क्षमताको मुख्य ट्याङ्कीमा सङ्कलन गरी उपभोक्तालाई वितरण गरिएको उनले बताइन्।

नवीकरणीय र वातावरणमैत्री प्रणालीलाई ध्यान दिँदै सिमेन्ट र प्लास्टिकको प्रयोग नगरी कपास तथा सालको पात प्रयोग गरेर खेर जाने पानी सङ्कलन गर्ने तीन वटा प्राकृतिक पुनर्भरण पोखरीसमेत निर्माण गरिएको अनुसन्धानकर्ता डा खड्गीले जानकारी दिइन्। उनका अनुसार यस प्रविधिबाट सङ्कलन भएको पानीले २०७२ को भूकम्पपछि मुहान सुकेर समस्या खेप्दै आएका साम्तेन छ्योलिङ गुम्बा, गेल्जे लामा स्मृति बौद्ध अध्ययन केन्द्र तथा आसपासका नौ घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराइएको छ। 

आयोजनाअन्तर्गत जल उपभोक्ता समितिका अध्यक्ष दावा छिरिङ शेर्पाका अनुसार पानीको अभावले गुम्बामा पूजा रोकिएको थियो। यो आयोजना सञ्चालनमा आएपछि अहिले गुम्बामा दुई पटक पूजा सम्पन्न भइरहेको छ। पानीको अभावले बन्द भएको गुम्बा पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताइन्।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आयोजना सम्पन्न भएर कुहिरोबाट पानी सङ्कलन हुन थालेपछि स्थानीयलाई राहत भएको बताए। अहिले यहाँका स्थानीयले खानेपानीसँगै सिँचाइमा सोही पानी प्रयोग गर्न थालेका उनको भनाइ छ। वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी कुहिरोबाटै पानी पाउन थालेपछि उत्साहित खुसी भएका छन्।

प्रकाशित: Aug 14, 2026| 21:47 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्