काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले गम्भीर आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिएर छानविनमा सघाउन आग्रह गरेका छन्।
महरामाथि लागेको आरोपको निष्पक्ष छानबिनको मागगर्दै थापाले महरालाई पदबाट अलग भएर सत्यतथ्य छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।
मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा नेता थापाले महरा दोषी या निदोष के हुन् भन्ने प्रस्ट हुन निष्पक्ष छानबिन जरुरी रहेको औँल्याए ।
‘सभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिमाथि लागेको आरोपले संसदकै गरिमामाथि प्रश्न उठाएको छ’, थापाले भने, ‘यो आरोप साँचो हो या गलत भन्ने प्रस्ट पार्न निष्पक्ष छानबिन हुन जरुरी छ।’ उनले प्रहरी सत्ता र शक्तिबाट प्रभावित नहोस् भन्दै कानुनअनुसार अघि बढ्नुपर्ने बताए।
उनले घटना घट्यो भन्ने सुनेपछि आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर नहुने र सत्यतथ्य छानबिन हुन जरुरी रहेकोमा जोड दिए। महरामाथि लागेको आरोप गलत पुष्टि भएमा आरोप लगाउने व्यक्तिमाथि कानुनी उपचार खोज्नुपर्ने समेत थापाको भनाई थियो।
महरामाथि आइतबार राति संसद् सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। महराले आफूमाथि कुटपिट गरेर जबरजस्ती गरेको उनको आरोप छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४