आइतबार, चैत १९, २०७९

मञ्जुलले अतीत सम्झँदै सार्वजनिक गरे ‘सम्झनाका पाइलाहरू’

कवि, गीतकार तथा गायक मञ्जुलले गीतियात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरेका छन्।
 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink

काठमाडौं- कवि, गीतकार तथा गायक मञ्जुलले गीतियात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरेका छन्। नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा आफ्ना गीत सुनाउँदै आइतबार पुस्तक विमोचन गरिएका हो।

नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा अलग्गै स्थान लिएको राल्फा अभियानका अगुवा मध्येका व्यक्तित्व हुन् कवि मञ्जुल। ‘सम्झनाका पाइलाहरू’ कवि मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो। वि.सं. २०४४ सालमा पहिलोपल्ट प्रकाशित यस पुस्तकलाई पब्लिकेसन्स नेपालयले ‘नेपालय–क्लास्सिक’ अन्तरगत पुनः प्रकाशित गरेको हो।

आइतबारको पलेँटीमा मञ्जुलले अनुभव बटुलेको उनको विगतको सांगीतिक यात्राको चर्चा भएको थियो। कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए। कार्यक्रममा राल्फाकाल र त्यस वरपरको समयको चर्चा भएको थियो।

कार्यक्रमको सुरुवात मञ्जुलको शब्दमा रामेशले धुन भरेको गीत ‘कार्यशील जिन्दगी, बगिरहने नदी हो’ बाट भएको थियो। यो गीतमा मञ्जुललाई पलेँटी टिमले साथ दिएको थियो। दोस्रो प्रस्तुतिमा पनि रामेशकै संगीतमा बाँधिएको ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ रहेको थियो।

दोस्रो गीतको प्रस्तुतिसँगै मञ्जुल आफ्ना अतीतका दिनलाई खुलेर सम्झना गरिरहेका थिए। ‘त्योबेला म राष्ट्र बैँकमा जागिरे थिएँ। रामेश, रायन, अरिम रेडियोमा लोकगीतहरू गाउँथे। संजोगले उहाँहरूसँग परिचय भयो। गीत संगीतमा मेरो पनि रुचि थियो। म पनि सँगै गाउन थालेँ। रेडियोमा गाएको पारिश्रमिक राष्ट्र बैँक मार्फत् लिनु पथ्र्यो। आफैँ कार्यरत बैँकबाट एक दिन पोल खुल्यो हाम्रो पारिश्रमिक त किर्ते गरेर रेडियोकै अन्य कोहीले खाँदा रहेछन्। त्यो फटाईँविरुद्ध हामीले मुद्दा हाल्यौँ। त्यो घटनाले हाम्रो रेडियो नेपाल जाने बाटो बन्द भयो। त्यसपछि गीत, संगीतमा लाग्ने अरु बाटो खोज्दा ‘राल्फा’ बन्यो। राल्फाले फरक खालका प्रयोगवादी सिर्जनाहरू सिर्जना गर्न थाल्यो।’ मञ्जुलले विगतलाई सरसर्ती सम्झिए।

कार्यक्रमको तेस्रो प्रस्तुति मञ्जुलले भनेझैँ साँच्चै नौलो प्रयोगको गीत थियो। मञ्जुल रामेशले जनतालाई गीत सुनाउने यात्राको प्रारम्भमा राल्फाका अमूर्त गीत पनि सुनाउँथे। त्यस्ता गीतलाई त्यसबेलाका वामपन्थी युवाहरूले रुचाउँदैनथे र खरो आलोचना गर्थे।

त्यसपछि मञ्जुलले आफ्नो गीत लेखनको धारलाई जनपक्षीय बनाए। उनले लेखे, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ पलेँटीको टिमले यो गीत गाउँदा दर्शकदीर्घाबाट राल्फाका अर्का गीतकार निरन पनि गुनगुनाइरहेका देखिन्थे। कार्यक्रममा राल्फाका अर्का सदस्य विमल राल्फाको पनि उपस्थिति थियो।

तेस्रो प्रस्तुतिले नेपाली समाजमा संगीतको सेवा गरेर जीवन गुजार्ने गान्धर्व समुदायलाई सम्मान व्यक्त गरेको भान हुन्थ्यो। सरल लोकभाका शैलीमा बनेको गीतलाई दर्शहरू पनि गुनगुनाइरहेका सुनिन्थे, ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा’। कुनै बेला गीतार हातमा लिएर गाउन रुचाउने मञ्जुल आज भने बिना गिटार मग्न भावमा गाइरहेका देखिन्थे।

चौथो गीत देशप्रेमलाई कलात्मक भावधारामा बहाउन सक्षम थियो। विगतका पलेँटीमा यो गीतलाई मूल गायक कुमार सुब्बा र मीना निरौलाले संगीतकार कर्म योञ्जनले भरेको धुनमा सुनाएका थिए तर आइतबार भने रामेशकै संगीतमा गुञ्जिएको थियो, ‘मेरो सानो मुरलीमा मेरो देश नअट्ला तर मेरो मुरलीले भाका राखूँ भन्छ’।

कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलले केही पुराना कविताहरू वाचन गरे। उनले आफ्नो पुरानो कविता सँग्रह ‘गायक यात्री’बाट त्यही शीर्षकको कविता लगायत ‘गीतार’ शीर्षकको कविता सुनाएका थिए।

कविता वाचन पश्चात विगतमा उनीसँग नजिकबाट संगत गरेका तथा संगीत र साहित्यमा गहिरो अभिरुचि राख्ने नेकपा नेता रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि आफ्नो मन्तव्य राखेका थिए। रघु पन्तले मञ्जुल र रामेशसँगको संगतको प्रसंग कोट्याउँदै विगतका क्षणहरूको व्याख्या गरे।

यसपछि ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिएको थियो। मञ्चमा रहेका कवि तथा गायक मञ्जुलले दर्शकमा रहेका आफ्ना पुराना सहयात्री तथा गीतकार निरनलाई पुस्तक उपहार दिएपछि पुस्तक विमोचन भएको घोषणा गरिएको थियो। सोही क्रममा निरनले राल्फाकालमा लेखेको गीत ‘के पाटीमा लेखिएका, हामी खरी अक्षर हौं ?’ को पनि प्रसंग उठेको थियो।

पुस्तक विमोचनपछि कार्यक्रम फेरि गीत गायन र कविता वाचनतर्फ मोडिएको थियो। ‘सम्झनाका पाइलाहरू’ मा कोशीको निकै ठाउँमा चर्चा आउछ। उनीहरूको यात्रा पनि त्यही नदीको निकटबाट गुज्रेको हुन्छ। मीनाको स्वरमा प्रस्तुत गीत ‘कोशी छेउ, उभेको सिमल जत्ति नी बाँच्दिन म’ ले त्यही परिवेशलाई सम्झाएको थियो।

त्यस लगत्तै गाइएको ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ, मर्छु र म सम्झना हुन्छु, आउँदा आँसु झार्न सकूँ’ ले पनि नदी र डुंगाकै बिम्बमार्फत् जीवनपरक भावना व्यक्त गरेको थियो। संगीतकार आभासले यो गीत मञ्जुलको पुरानो गीतसँग्रहबाट आफूले छानेर धुन भरेको जानकारी गराएका थिए।

कार्यक्रमको अन्तिम चरणमा मञ्जुलले केही नयाँ कविता वाचन गरेका थिए। पछिल्लो चरणमा मञ्जुलले लेखेका कविता प्रकृतिसँग जनजीवनलाई जोड्दै कलात्मक धारमा हिँडेका पाइन्छन्। कार्यक्रमको अन्तिम चरणका गीत प्रस्तुत गर्नु पहिले मञ्जुल आफ्नो पुरानै शैलीमा भन्दै हुन्छन्, ‘अब गाइने गीत तपाईंहरू धेरैले सुनेका गीतहरू हुन्स हामी सँगै गाउँ है !’ त्यसपछि सबैको आवाजसँगै ‘आर’ शाला क्रमशः गुञ्जन्छन् ‘गाइ त बाँध्यो ढुंग्रोमा मोई छैन, गरीबको चमेली बोल्दिने कोही छैन’। कार्यक्रमको समापन ‘कोही त भने जहाज हरर’ बाट भएको थियो।  

मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभास तथा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए।

अँग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटीको अक्टुबरको पलेँटीमा सुमन थापा प्रस्तुत हुने भएका छन्। सुमन थापा संगीतमा गहिरो संलग्नता राख्ने नेत्र विशेषज्ञ हुन्। उनले आउँदो पलेँटीमा गीतकार श्रवण मुकारुङका गीत र आभासको संगीतलाई प्रस्तुत गर्नेछन्।

प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।