काठमाडौं– भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाए लगत्तै काठमाडौंमा प्याजको मूल्य आकाशिएको छ ।
भारतले प्याज निर्यातमा आइतबार प्रतिवन्ध लगाएको थियो भने काठमाडौंका व्यापारीले सोमबार नै प्याजको खुद्र मूल्यमा न्यूनतम रु. ३० प्रतिकिलो बृद्धि गरे।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार रु. १०५ प्रतिकिलो विक्री गरेको प्याज सोमबार प्रतिकिलो रु. १३५ पुर्याएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ अबको दुई तीन दिनमै प्याजको चरम अभाव हुने बताउँछन् ।
“हामीसँग प्याज भण्डारण गर्ने ठूला गोदाम छैनन्,” श्रेष्ठले भने, “भारतबाट आयात बन्द भयो भने केही दिनमा प्याज पाउनै मुश्किल हुनेछ ।”
भारतमा यसवर्ष प्याजको उत्पादन घटेको र त्यही कारण मूल्य चर्किंदै गएपछि उसले प्याज निर्यातमा रोक लगाएको हो ।
नेपालमा भारतबाट मात्र वार्षिक रु. २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ। चाडपर्वको मुखमा प्याजको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्याज प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य झण्डै दोब्बर भएको छ।
नेपालमा खपत हुने ९५ प्रतिशत बन्दा बढी प्याज भारतबाट आउँछ ।
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ।
दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४