आइतबार, साउन ३१, २०८३

‘प्रसूति गृहको लापरबाही’ ले शिशुको ज्यान गयो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- धादिङ गल्छी गाउँपालिका–४ की भूमिका सापकोटा परियारले गर्भधारण गरेको तीन महिनादेखि निरन्तर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराइन्। 

जतिपटक गर्भ जाँच गरियो त्यति नै पटक चिकित्सकबाट आमा र बच्चा दुवैको अवस्था राम्रै छ भन्ने जबाफ पाइरहिन्। 

चिकित्कसले सुत्केरी हुने मिति भदौ ११ गते तोकिदिएपछि उनी त्यही दिन प्रसूति गृह पुगिन्। तर चिकित्सकले अझै केही दिन लाग्ने भनेर घर पठाइदिए। फेरि १५ गते प्रसूति गृह जाँदा चिकित्सकले एक हप्तासम्म व्यथा नलागेमा आउनू भनेर फर्कायो। 

२० गते उनलाई व्यथा लाग्यो। अम्मरले भूमिकालाई प्रसूति गृहमा पुर्‍याए। वार्डमा भर्ना गरियो। 

भर्ना गरेको २४ घण्टासम्म नर्सले मात्र हेरचाह गरिरहेको हुँदा अम्मरले चिकित्सकलाई नै बोलाउन पटक–पटक आग्रह गरे तर सुनुवाइ भएन। नर्सले ‘बच्चा पाउने बेला यत्तिको अप्ठ्यारो त भइहाल्छ नि, कति कचकच गरेको ?’ भन्दै हप्काइरहे। 

भूमिकाले भने पतिसँग आफूलाई धेरै अप्ठ्यारो भएको सुनाइरहिन्। ज्यादा रगत बगेर पत्नीलाई कठिन भएपछि अम्मर आत्तिए। नर्सले आमा र बच्चा दुवैको अवस्था राम्रै छ भनिरहे।

अस्पताल पुर्‍याएको दुई दिनपछि मात्र आएका डाक्टरले अम्मरलाई भने, ‘आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले बच्चा सजिलै जन्मिँदैन र शल्यक्रिया गर्नुपर्छ। दुवैको ज्यान जोगाउने हो भने शल्यक्रिया गर्नुपर्छ।’ त्यसपछि अम्मरले शल्यक्रियाका  लागि तयार भएर कागजमा हस्ताक्षर गरे।

शल्यक्रिया गरेर छोरा जन्मिएको खबर सुनेपछि उनी खुसी हुँदै वार्डमा पुगे। तर अम्मरले बच्चा मृत अवस्थामा जन्मिएको थाहा पाए। ‘त्यो सुनेर म छाँगाबाट खसेझैँ भए’, अम्मरले भने, ‘केहीबेर अघिसम्म बच्चा सकुशल छ भन्ने स्वास्थ्यकर्मीले मरेको बच्चा जन्मियो भन्नु कतिसम्मको लापरबाही हो?’

पाठेघर फुटेका कारण बच्चा बितेको भने पनि चिकित्सकको लापरबाही नै कारण रहेकोे उनको आरोप छ। पाठेघर फुटेर त्यसको असरले किड्नी फेल भएपछि भूमिकाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

‘सुरुमा प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमले बिरामी निको पार्ने जिम्मा हाम्रो हो भने तर पछि वास्तै गरेनन्’, अम्मरले भने, ‘उपचारमा चार लाख बढी रकम खर्च भइसक्यो अझै कति हुने हो थाहा छैन।’ 

डा. गौतमले भने भूमिकाको शिशुको निधन हुनुमा चिकित्सकको लापरबाही नभएको दाबी गरे। ‘सुत्केरी हुन तोकिएको समयभन्दा केही ढिलो भएकाले व्यथा लगाउने (मिसोप्रेस्टोल) नामक औषधि चलाइएको थियो’, गौतमले नेपाल समयसँग भने, ‘सुत्केरी गराउनुपूर्व पाठेघर फुटेकाले बच्चाको ज्यान पनि गयो र आमाको किड्नीमा पनि असर पर्‍यो।’ सुत्केरी व्यथा लगाउन सबैमा प्रयोग हुने यही औषधि रहेको र हजारौंमा एकदुई जनामा यस्तो समस्या देखिन सक्ने गौतमको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।