चितवन- ‘नेपालका लागि नेपाली’ नाममा भ्रष्टाचार अभियान चलाईरहेका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ।
भ्रष्टाचारविरुद्ध चितवनको चौबिसकोठीमा खबरदारी सभा गर्न गएका शाहीमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले निर्घात कुटपिट गरेको चितवन प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते शाहीलाई उद्धार गरी प्रहरीले चितवन मेडिकल कलेजमा पुर्याएको चितवका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
‘उहाँ कहा बस्नु भएको छ भन्ने जानकारी प्रहरीलाई थिएन’, कोइरालाले भने, ‘प्रहरी टोली कार्यक्रमस्थलमा थियो, उहाँ होटल ग्लोबलमा बस्नुभएको रहेछ।’ होटलबाट निस्केर गाडीमा चढ्ने बेला उनीमाथि कुटपिट भएको कोइरालाले जानकारी दिए।
कुटपिटबाट शाहीको दाँया खुट्टामा, छातीमा र ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त समूहले शाही चढेको गाडीमासमेत तोडफोड गरेको बुझिएको छ। राजावादीलाई कार्यक्रम गर्न नदिने भन्दै शाही माथि कुटपिट गरेको बुझिएको छ।
सुरक्षाको कारण देखाउँदै आफूहरुले कार्यक्रम स्थगित गर्न भने पनि कार्यक्रम नभएको कोइरालाले जानकारी दिए। प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
केही दिन पहिले नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा पर्यटन तथा नागरिक उड्यायन मन्त्री योगेश भट्राईको कारणले प्लेन ढिलो भएको भन्दै शाहीले मन्त्रीमाथि दुव्र्यवहार गरेको आरोपमा युवासंघले उनीमाथि केही जिल्ला प्रवेशमा गर्न प्रतिवन्ध लगाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४