काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन्।
जम्मा ५९ मतदाता रहेकोमा चतुरबहादुर चन्दले ४४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी विनय पाण्डेले जम्मा १५ मत प्राप्त गरेका छन्।
अन्य पदाधिकारीमा पनि चन्द प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन्।
चन्द प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राजबाबु श्रेष्ठले ४१ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने डेण्डु शेर्पाले जम्मा १७ मत प्राप्त गरेका छन्।
त्यस्तै सचिवमा चन्द प्यानलकै अशोकनाथ प्याकुरेल विजयी भएका छन् उनले ४३ मत प्राप्त गरेका भन् भने पाण्डे प्यानलका विनोद मैनालीले १५ मत प्राप्त गरेका छन्।
कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मतसहित विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १२ मत प्राप्त गरेका छन्।
प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत ल्याएर निर्वाचित भएका छन् ।
प्रदेश सदस्यतर्फ नै प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट भने निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छन् ।
खुल्ला सदस्य तर्फ दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५), संजय राज सिंह (३४) र करन महोत्रा छेत्री (३०) मत ल्याएर निवार्चित भएका छन् ।
आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।
नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो। क्यानमा नयाँ नेतृत्व आएसँगै क्यान निलम्बनको ढोका खुलेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४