काठमाडौं - सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले जिम्बाब्वेलाई जितका लागि मध्यम लक्ष्य सुम्पेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरी बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। उनले ३३ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ४० रन जोडेका थिए। त्यस्तै कप्तान पारस खड्काले १८, सन्दीप जोराले १७ रन जोडे। विनोद भण्डारी ११ र सोमपाल कामी २५ रनमा अविजित रहे। अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।
खराब सुरुवात गरेको नेपालले ७.३ ओभरमा सुरुवाती तीन विकेट गुमाएको थियो। दोस्रो ओभरको अन्तिम बलमा ओपनर इसान पाण्डेलाई गुमाएको नेपालले टोलीको ३२ रन पुग्दा ६.४ ओभरमा आरिफ सेखलाई गुमाएको थियो। तेस्रो विकेटको रुपमा टोलीको ३८ रन पुग्दा कप्तान पारस पेभिलियन फर्किए।
नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वेका लागि सेन विलियम्सले दुई तथा रोय बुर्ली, नेभिल्स मड्जीभा, टेन्डै छतरा र बेलिङटन मासाकाड्जाले समान एक एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४