काठमाडौं- दसैं नजिकिँदै गर्दा यात्रुको चाप बढेपछि सरकारले काठमाडौं भित्रिने ठूला मालवाहक ट्रक चितवनमै रोक्ने भएको छ।
विभागले १० चक्केभन्दा बढी क्षमताका ट्रकलाई चितवनबाट काठमाडौंतर्फ जान नदिने निर्णय गरेको छ। निर्णय शुक्रबार रातिदेखि लागू गरिने यातायात व्यवस्था विभागले जनाएको छ।
चाडपर्व मनाउन काठमाडौंबाहिर जाने चापको चाप बढेको छ। सवारीसाधन घन्टाैं जाममा बस्नुपरेको गुनासो बढेपछि यातायात विभागले १० चक्केभन्दा माथिका मालवाहक ट्रकमाथि रोक लगाएको हो।
यो नियम असोज १९ गतेसम्म कायम रहनेछ।
यातायात व्यवस्था विभागका प्रमुख गगनबहादुर हमालले यात्रुवाहक सवारीसाधनको चापका कारण ट्राफिक जाम बढेपछि यस्तो नियम लागू गरिएको बताए।
हमालका अनुसार चितवनबाट काठमाडौंतर्फ आउने मालवाहक ट्रकमाथि मात्र यो नियम लागू भएको हो। अन्य नाकाबाट काठमाडौं आउने मालवाहक ट्रकमाथि भने कुनै रोक लगाइएको छैन।
यस्तै अत्यावश्यक सामग्रीमध्ये खाद्यान्न, औषधी तथा कृषिजन्य उत्पादन तरकारी तथा दूध बोक्ने ट्रकमाथि भने रोक लगाइएको छैन।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार चाडपर्व मनाउन गत वर्ष २५ लाख यात्रु बाहिरिएका थिए। यस वर्ष झन्डै ३० लाख यात्रु बाहिरिने अनुमान विभागको छ।
ट्राफिक जनशक्तिको कमी, जीर्ण सडक तथा सवारीसाधनको चापका कारण यात्रु घन्टौंसम्म राजमार्गमा रोकिएर बस्नुपर्ने बाध्यता छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४