काठमाडौं- घुस रकमसहित पक्राउ परेका यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यातायातका निमित्त प्रमुख विष्टसहित सोही कार्यालयका अधिकृतद्वय भुवन जोशी र जयराज कारीगर तथा भोजपुरको षडानन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र लेखा अधिकृत राजेश काफ्लेविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
यातायातका कर्मचारीहरुले सेवाग्राहीको सवारीसाधन बिक्रीपश्चात नामसारी गरीदिएवापत सेवाग्राहीसँग १५ हजार लिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको मागदावी गरिएको छ। उनीहरुलाई अख्तियारको टोलीले गत भदौँ १२ गते घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।
यस्तै कार्की र काफ्लेविरुद्ध झुटा भ्रमण आदेश र झुटा सामान खरिद खादेश र दाखिला प्रतिवेदन तयार गरी १६ लाख ६५ हजार ९ सय ४ रुपैँया हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्यितारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरु कार्यालयमा अनुपस्थित रहेर कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा नै लगेर विभिन्न योजनाहरूको भुक्तानी गर्नुका साथै आफू अनुकूलका व्यापारीहरूसँग साँठगाँठ गरी कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराएको अभियोग छ।
नगरपालिकालाई हानिनोक्सानी पुर्याउने र आफूलाई गैरकानूनी लाभ लिने बदनियतपूर्ण काम गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय गरी, सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर गर्न माग दाबी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४