अमेरिकामा भएको सवारी दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ।
मंगलबार र बुधबार भएका दुई दुर्घटनामा परी महोत्तरीको बर्दिवासका विष्णुप्रसाद सापकोटा र कर्णबहादुर सुवेदीको मृत्यु भएको हो ।
सापकोटा छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न अमेरिका पुगेका थिए । उनी श्रीमतिसहित घुम्न निस्केका बेला बुधबार केन्टकीमा गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई युनिभर्सिटी अफ केन्टकी अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
उनकी घाइते श्रीमति विमला सापकोटाको सोहि अस्पतालमा उपचार भइराखेको जनाइएको छ । उनको पनि अवस्था जटिल रहेको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ।
त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार भएको दुर्घटनामा परी कर्णबहादुर सुवेदीको मृत्यु भएको छ ।
सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको स्थानीय ल्यानकास्टर अनलाइनले जनाएको छ।
नेपाली–भाषी भूटानी सुवेदीलाई सन् २०१२ मा पुनर्वासका क्रममा सपरिवार अमेरिकामा आएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४