काठमाडौं - चितवनको कंगारु गेस्ट हाउसमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट र डिजिटल ल्याब टेस्टको रिपोर्ट तयार भएको छ।
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालले पुडासैनीको पोस्टमार्टम रिपोर्ट तयार पारेको छ। यस्तै प्रहरी मुख्यालयमा डिजिटल ल्याब परीक्षण सकिएको छ। दुवै रिपोर्ट आजै चितवन लगिने स्रोतले जनायो।
नुवाकोटको बेलकोटगढी नगरपालिका–२ का शालिकराम पुडासैनी केही महिनादेखि माउन्टेन टिभी कार्यरत थिए।
साउन २० गते सोमबार साँझ चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुन्डिएको अवस्थामा पुडासैनीको शव फेला परेको थियो।
उनले सोमबार दिउँसो ३ .३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । साँझ होटलका कर्मचारी खाना खान बोलाउन जाँदा ढोका नखोलेपछि होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो।
पत्रकार पुडासैनी आत्महत्या गर्नुअघि तयार पारेको भिडियो बुधबार सञ्चारमाध्यमबाट बाहिर आएपछि उनको हत्याबारे अनेक शंका उठेका छन्। पुडासैनीले आत्महत्या गर्नु अगाडि तयार पारेको भिडियोको आधिकारिकताका लागि डिजिटल ल्याब परीक्षण गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पोस्टमार्टम र ल्याब टेस्ट रिपोर्टका आधारमा अनुसन्धान अगाडि बढाइने बताए। उनले भने, ‘सार्वजनिक भएको भिडियो र प्रहरीसँग रहेको प्रमाण मिलेमा पुडासैनीले लिएका नाममाथि अनुसन्धान सुरु हुन्छ ।’
मुलुकी अपराध (संहिता) ऐन,२०७४ ले आत्महत्याका लागि कुनै पनि प्रकारको दुरुत्साहनलाई फौजदारी कसुर मानेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४